युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्न लुम्बिनी प्रदेशमै पहिलो पटक ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिदै छ ।
‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने नारासहित रुपन्देही उद्योग संघले आयाेजना गरेकाे याे कार्यक्रम सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वय तथा ‘विगी तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)’ को सहयोगमा हुन लागेको हाे ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले हाल उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच सन्तुलन नमिलेकाले त्यसलाई कम गर्न कार्यक्रम उपयोगी हुने बताए । उनले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवर्द्धन तथा स्वदेशमै सम्मानित रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनि जानकारी गराए ।
अनका अनुसार आज शुक्रबार हुने कार्यक्रम नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित परियोजनाको सहयोगमा हुन लागेको हाे । कार्यक्रममार्फत युवालाई सीपमूलक शिक्षातर्फ आकर्षित गर्दै उद्योग क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इन्स्योर परियोजनाका लुम्बिनी प्रदेश प्रमुख अम्बिका प्रसाद तिमिल्सिनाले सरकारलाई नीतिगत क्षमतामा सहयोग, निजी क्षेत्रलाई दक्ष जनशक्ति उत्पादनमा सहजीकरण तथा युवालाई प्राविधिक सीपमा दक्ष बनाउन परियोजनाले काम गरिरहेको बताए । उनका अनुसार सरकार, निजी क्षेत्र र युवाबीच समन्वय गर्दै सम्मानित रोजगारी सिर्जनाका लागि परियोजनाले सहकार्य गरिरहेको छ ।
कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीबीच प्रत्यक्ष सीप प्रतिस्पर्धा गराइने भएको छ । उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत प्रि–डिप्लोमा तहको परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रशिक्षार्थी, ८० प्रतिशतभन्दा बढी नतिजा हासिल गर्ने शिक्षालय तथा बढी प्रशिक्षार्थीलाई रोजगारी उपलब्ध गराउने उद्योगलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीले तयार गरेका उद्यमशीलता चुनौती परियोजनाको प्रदर्शनीसमेत गरिनेछ । साथै प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको वर्तमान अवस्था, चुनौती तथा अवसरबारे विज्ञहरूसँग प्यानल छलफल आयोजना गरिने आयोजकले जनाएको छ ।
प्यानल छलफलमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का प्रतिनिधि, सामाजिक विकास मन्त्रालयका सचिव, रुपन्देही उद्योग संघका अध्यक्ष, पूर्व प्रशिक्षार्थी सञ्जालका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा इन्स्योर परियोजनाका प्रतिनिधिको सहभागिता रहनेछ ।
कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास इकाई तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिनेछ । विभिन्न शिक्षालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमबारे पनि जानकारी गराइने छ ।
संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेका अनुसार कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको सहभागिता रहनेछ । करिब एक हजार विद्यार्थी तथा युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ भने कम्तीमा पाँच सय युवाले वृत्ति परामर्श सेवा, प्राविधिक शिक्षा तथा रोजगारीसम्बन्धी जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
सीप विकास संस्कृतिको प्रवर्द्धन, सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तार तथा युवालाई रोजगारीसँग जोड्न याे कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने संघका महासचिव सुमन बस्यालले बताए ।