सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का

1.3K

सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का

यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । बढ्दो ट्राफिक जाम, वायु प्रदूषण, सवारी चाप तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको अव्यवस्थालाई कारण देखाउँदै विभागले अर्को सूचना नभएसम्म नयाँ दर्ता स्थगित गर्ने निर्णय गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जेठ ७ गते जारी परिपत्र सातवटै प्रदेशका भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय तथा देशभरका स्थानीय तहमा पठाइएको छ । उक्त परिपत्रमार्फत सार्वजनिक प्रयोजनका सबै प्रकारका सवारी साधनको नयाँ दर्ता रोक्न निर्देशन दिइएको छ ।
विभागका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारी मात्र नभई विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता प्रक्रिया रोकिएको छ । विभागले सार्वजनिक यातायात क्षेत्रको वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै हालको अवस्थामा अनियन्त्रित रूपमा सवारी थपिँदा सडक व्यवस्थापनमा समस्या बढेको निष्कर्ष निकालेको छ ।
अत्यधिक वायु प्रदूषण, ट्राफिक जामका कारण यात्रु आवागमनमा उत्पन्न असहजता, सडकको क्षमता भन्दा बढी सवारी सञ्चालन तथा इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात सञ्चालनमा परेको प्रभावलाई मुख्य कारणका रूपमा उल्लेख गरिएको छ । विभागले यी समस्याले शहरी क्षेत्रको यातायात प्रणाली थप जटिल बन्दै गएको जनाएको छ ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ । उक्त कानुनी व्यवस्थाअनुसार वातावरणीय प्रदूषण, सडकको अवस्था, सवारी चाप वा आवागमनमा कठिनाइ उत्पन्न भए सार्वजनिक हितका लागि विभागले सवारी दर्ता रोक्न सक्ने अधिकार राख्छ ।
सोही कानुनी आधारलाई टेकेर नेपाल सरकारको नीतिअनुरूप सार्वजनिक यातायातलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यसहित नयाँ दर्ता प्रक्रिया अस्थायी रूपमा बन्द गरिएको विभागले जनाएको छ ।