लुम्बिनीमा ‘सीप च्याम्पियनसिप’ : उत्कृष्ट विद्यार्थी पुरस्कृत

1.3K

लुम्बिनीमा ‘सीप च्याम्पियनसिप’ : उत्कृष्ट विद्यार्थी पुरस्कृत

युवालाई प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिएको छ ।
रुपन्देही उद्योग संघको आयोजना तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा तिलोत्तमामा शुक्रबार सम्पन्न कार्यक्रममा प्रदेशका १२ जिल्लाबाट करिब एक हजार विद्यार्थी, उद्योगी–व्यवसायी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
कार्यक्रममा अटो मेकानिकल, सूचना प्रविधि (आईटी) र होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीबीच प्रत्यक्ष सीप प्रतिस्पर्धा गराइएको थियो । साथै विभिन्न उद्योगका उत्पादन तथा सेवासम्बन्धी प्रदर्शनी, वृत्ति परामर्श सेवा र रोजगार सूचना केन्द्रका स्टलसमेत राखिएका थिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिको सीपबीच असन्तुलन रहेकाले रोजगारदाता र युवाबीच समन्वय गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्राविधिक शिक्षा र रोजगारीलाई जोड्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा प्रदेश सरकारले प्राथमिकतासाथ अघि बढाउने बताए । इन्स्योर परियोजनाका प्रदेश प्रमुख अम्बिकाप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई प्राविधिक शिक्षाबारे जानकारी दिन र उद्योग तथा शिक्षालयबीच सहकार्य बढाउन कार्यक्रम प्रभावकारी भएको बताए ।
प्रतिस्पर्धामा होटल म्यानेजमेन्टतर्फ शान्ति नमुना माविका विजयबहादुर बुढामगर, आईटीतर्फ लिलाराम माविका सिद्धार्थ यादव र अटोमोबाइलतर्फ महाकवि देवकोटा माविका सन्तोष चौधरी प्रथम भएका छन् । विभिन्न उद्योग, विद्यालय तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत कार्यक्रममा पुरस्कृत गरिएको थियो ।