नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् ।
महासंघको केन्द्रीय कार्यालय टेकुमा शुक्रबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वैद्य तथा कोषाध्यक्षमा प्रधान निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचनअघि ढकालले उम्मेदवारी फिर्ता लिएपछि पवैद्य र संघाईबीच प्रतिस्पर्धा भएको हाे ।
त्यसैगरी, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।
यसैबीच, महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् ।
महासंघको विधान अनुसार सबै सदस्य समूहको प्रतिनिधित्व सुनिश्चित हुनेगरी कम्तीमा दुई महिलासहित सात जना सदस्य मनोनित गर्न सकिने व्यवस्था छ । सोही प्रावधानअनुसार अध्यक्ष श्रेष्ठले शुक्रबार ६ जना सदस्य मनोनित गरेका हुन् ।

नवनिर्वाचित तथा मनोनित पदाधिकारी एवं सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराए । सो अवसरमा उनले निजी क्षेत्रको व्यवसायिक हकहित संरक्षण, उद्योगी–व्यवसायीका समस्या समाधान तथा देशको आर्थिक समृद्धिका लागि महासंघ एकताबद्ध भएर सक्रिय रूपमा अघि बढ्ने बताए ।
महासंघको वैशाख २१ र २२ गते सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनपछि विधान अनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ संवत: अध्यक्षमा निर्वाचित भएका थिए । गत मंसिरमा विशेष साधारण सभामा गरिएको सातौं संशोधनअनुसार यो व्यवस्था यस कार्यकालका लागि मात्र लागू गरिएको हो । संशोधित विधानअनुसार आगामी कार्यकालदेखि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुने व्यवस्था गरिएकाे छ ।