पश्चिम तराईको तापक्रम ४० डिग्री माथि : जनजीवन प्रभावित

1.3K

पश्चिम तराईको तापक्रम ४० डिग्री माथि : जनजीवन प्रभावित

पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अत्यधिक गर्मीका कारण लुको अवस्था सिर्जना हुँदा जनजीवन प्रभावित बनेको छ भने स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तराईमा लुको चेतावनी जारी गरेको छ । धनगढी, नेपालगन्ज, बुटवल, भैरहवा लगायतका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री नाघेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो हावा चल्न थालेपछि दैनिक जनजीवन कष्टकर बनेको छ । विशेषगरी किसान, निर्माण क्षेत्रमा काम गर्ने मजदुर तथा दैनिक ज्यालादारी श्रमिकहरू बढी प्रभावित भएका छन् । चिकित्सकहरूका अनुसार अस्पतालहरूमा आएका लुका बिरामीमा ज्वरो, झाडापखाला, डिहाइड्रेसन लगायतका समस्या देखिएको छ ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका कारण आगामी दिनमा संक्रामक तथा कीटजन्य रोगको जोखिम बढ्ने चेतावनी दिएका छन् । झाडापखाला, आउँ, हैजा, हेपाटाइटिस ए र ई, मलेरिया, डेंगु तथा स्क्रब टाइफसजस्ता रोग गर्मीयाममा फैलिन सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।
मौसमविद्हरूका अनुसार यस वर्ष जारी गरिएको यो तेस्रो लु बुलेटिन हो । यसअघि पनि दुई पटक चेतावनी जारी गरिएको भए पनि प्रिमनसुन वर्षाका कारण केही समय तापक्रम घटेको थियो । अहिले पुनः पश्चिमी तराईमा गर्मी तीव्र बनेको छ ।
यद्यपि सोमबार रातिदेखि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले मंगलबारपछि तापक्रम केही घट्न सक्ने अनुमान गरिएको छ ।
चिकित्सकहरूले लुबाट जोगिन दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र टाउको छोपेर मात्र बाहिर जान आग्रह गरेका छन् । अत्यधिक गर्मीका कारण टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने उनीहरूले बताएका छन् । हिटस्ट्रोक गम्भीर अवस्था भएकाले लक्षण देखिए तुरुन्त उपचार गराउन सुझाव दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मुटुको धड्कन असामान्य रूपमा बढ्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, उच्च ज्वरो आउने वा पसिना बन्द हुने जस्ता समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।