लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनपछि नियुक्त पाँच जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ (९) बमोजिम एक साताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् । नयाँ मन्त्रीहरूमा एमालेका तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे र रत्नबहादुर खत्री तथा जसपाका भण्डारीलाल अहिर रहेका छन् ।
नवनियुक्त मन्त्रीहरु चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । अहिर प्रदेशसभाको वर्तमान कार्यकालमा चौथोपटक मन्त्री बनेका छन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो ।