विश्वकप २०२६ : ४८ टोली, १०४ खेल

1.3K

विश्वकप २०२६ : ४८ टोली, १०४ खेल

फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । उत्तर अमेरिकी महादेशका तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको २३ औँ संस्करणको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिताका रूपमा मैदानमा उत्रँदैछ ।
आगामी बिहिबार जेठ २८ देखि साउन ३ गतेसम्म (अर्थात जुन ११ देखि जुलाई १९ सम्म) सञ्चालन हुने प्रतियोगितामा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए । टोली संख्या बढेसँगै खेल संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ । जसले यो संस्करणलाई अहिलेसम्मकै सबैभन्दा विस्तारित विश्वकप बनाएको छ ।
विश्वकपको उद्घाटन खेल जुन ११ मा मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियममा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ । ३९ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा खेलाइनेछ ।
फिफा विश्वकपको इतिहासमा पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्न लागेको यो प्रतियोगिताका खेलहरू १६ सहरका स्टेडियममा सञ्चालन हुनेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहर खेलस्थलका रूपमा छनोट भएका छन् ।
प्रतियोगिताको नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली रहनेछन् । समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीले नयाँ थप गरिएको ‘राउन्ड अफ ३२’ मा स्थान बनाउनेछन् । त्यसपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरू हुनेछन् ।
मेक्सिको विश्वकप तीन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ भने एज्टेका स्टेडियमले सन् १९७०, १९८६ र २०२६ गरी तीन फरक विश्वकपको खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशालाको कीर्तिमान बनाउनेछ ।
यस संस्करणको अर्को विशेषता भनेको केही नयाँ राष्ट्रहरूको विश्वकप डेब्यु हो । प्रतियोगिता विस्तार भएसँगै कुराकाओ, उज्वेकिस्तान, जोर्डन र केप भर्डजस्ता टोलीहरूले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उपस्थिति जनाउने अवसर पाएका छन् । सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिना यस पटक कप्तान लायनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

समूह चरणको खेल तालिका