रोल्पाको सुनिल स्मृति गाउँपालिकाको आयोजना र बुटवलको नियोन मल्टिस्पेसियालिटि सेन्टरको प्राविधिक सहयोगमा सुलिचौरमा बृहत स्वास्थ्य शिविर गरिएको छ । शनिबार आयोजना गरिएको शिविरमा उक्त गाउँपालिका तथा आसपासका ८५० जना भन्दा बढीले स्वास्थ्य परीक्षण गरिएको नियोनका सञ्चालक दीपु केसीले जानकारी गराए ।
शिविरमा हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, जनरल फिजिसियन, नशा तथा मनोरोग, रेडियोलोजी (भिडियो एक्स रे)तथा इसिजी लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो । त्यस्तै शिविरमा निशुल्क औषधी तथा परामर्श सेवा समेत प्रदान गरिएको नियोनका अर्का सञ्चालक महेश शर्मा पौडेलले जानकारी दिए ।
शिविरको उद्घाटन गर्दै सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीले ग्रामिण तथा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका पालिकाबासीलाई घरदैलोमै स्वास्थ्य सेवा दिन र स्वास्थ्य सेवाको पहुँच बढाउनको लागि शिविरको अयोजना गरिएको बताए । उनले शिविर सञ्चालनमा सहयोग गर्ने नियोन तथा संलग्न चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई धन्यवाद व्यक्त गरे । शिविरमा गाउँपालिकाकी उपाध्यक्ष मीना थापा, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजाल, स्वास्थ्य शाखा प्रमुख मोतिम आलम, जनस्वास्थ्य अधिकृत सावित्राकुमारी थापा लगायतको सहभागिता रहेको थियो ।
शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डा. सन्तोष बस्नेत, हाडजोर्नी विशेषज्ञहरु डा. आलोक थैव, डा. सम्राट पराजुली, जनरल फिजिसियन डा. सन्तोष घिमिरे, नशा तथा मनोरोग विशेषज्ञ सजिता पौडेल, रेडियोलोजिष्ट डा. विकास शर्मा तथा मेडिकल अधिकृतहरु डा. गोकुल पौडेल र डा. विनिता ज्ञवाली सहितको स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्वास्थ्य परीक्षण गरेको नियोनका सञ्चालक सरोज खनालले जानकारी दिए । उनका अनुसार शिविरमा हाडजोर्नी, दम, नाक, कान, घाँटी, मनोरोग लगायतका समस्या बढी देखिएको छ ।

गत असोजदेखि बुटवलको अस्पताललाईनमा सञ्चालनमा आएको नियोन मल्टिस्पेसियालिटी सेन्टरले सञ्चालनको छोटो अवधिमै विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र बिरामीमैत्री सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदायक संस्थाको पहिचान बनाएको छ । स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच नियोनले सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै बहुआयामिक स्वास्थ्य सेवा सञ्चालन गरिएको अर्का सञ्चालक भानु पोखरेलले जानकारी दिए । सञ्चालक दीपु केसीका अनुसार यहाँ नाक, कान तथा घाँटी रोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग, मानसिक स्वास्थ्य, जनरल सर्जरीलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट नियमित परामर्श तथा उपचार सेवा उपलब्ध छ । अनुभवी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार हुने भएकाले बिरामीले सुरक्षित र भरपर्दो सेवा पाउँदै आएको उनले बताए ।