प्रशान्त महासागरमा एल निलाे प्रणालीकाे प्रभाव : मनसुन आगमनमा ढिलाई

1.3K

प्रशान्त महासागरमा एल निलाे प्रणालीकाे प्रभाव : मनसुन आगमनमा ढिलाई

नेपालमा यस वर्ष मनसुन आगमनमा ढिलो भएकाे छ । जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म नेपालमा मनसुन भित्रिन नसकेको र मौसमीय अवस्थाको विश्लेषणले मनसुन आगमनमा ढिलाइ हुन सक्ने संकेत गरेको जनाएको छ ।
सामान्यतया नेपालमा मनसुन जुन १३ तारिखमा प्रवेश गर्ने गर्छ । तर, भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणअनुसार यस वर्ष मनसुन आगमन अझै केही दिन पछाडि सर्न सक्ने विभागको भनाइ छ ।
विभागका अनुसार हाल पश्चिमी वायुको सक्रियता तथा स्थानीय वायु प्रणालीको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । यद्यपि यी गतिविधि मनसुन प्रणालीका नभई स्थानीय मौसमी प्रभावका कारण भएका हुन् ।
मौसमविद्हरूले प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’ प्रणालीलाई मनसुन ढिलो हुने मुख्य कारणका रूपमा औंल्याएका छन् । एल निनो क्रमशः बलियो बन्दै गएको र त्यसको प्रभाव दक्षिण एसियासहित नेपालमा पनि पर्न सक्ने भएकाले मनसुन कमजोर तथा ढिलो हुने सम्भावना देखिएको विभागले जनाएको छ ।
विगतका वर्षहरूमा पनि एल निनोको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ भएको तथ्यांकले देखाएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा सन् १९७२ मा जुन १८, सन् १९८२ मा जुन २३, सन् १९८३ मा जुन २४, सन् १९८७ मा जुन १४, सन् १९९२ मा जुन २१, सन् १९९७ मा जुन १४, सन् २००२ मा जुन १५, सन् २००९ मा जुन २३, सन् २०१५ मा जुन १५, सन् २०१९ मा जुन २० र सन् २०२३ मा जुन १४ मा मनसुन प्रवेश गरेको थियो ।
मनसुन नेपालको कृषि, खानेपानी, जलविद्युत् तथा समग्र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको र विशेषगरी धान रोपाइँको समय नजिकिँदै जाँदा मनसुन ढिलो हुने संकेतले किसानमा थप चिन्ता बढाएको छ ।