पूर्वी पाल्पा समाज रुपन्देहीले संस्थाको भावी कार्यदिशा निर्धारण, नेतृत्व क्षमताको विकास तथा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । होटल हयात प्यालेस, बुटवलमा आयोजित गोष्ठी संस्थाकी अध्यक्ष वृन्दा भट्टराई आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा बुटवल उपमहानगरपालिका–८ का वडा अध्यक्ष यज्ञप्रसाद पङ्गेनी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष सुनिल श्रेष्ठले संस्थाको स्थापना, उद्देश्य र हालसम्म सञ्चालन भएका सामाजिक तथा संस्थागत गतिविधिबारे जानकारी गराउँदै संस्थाको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
कार्यशालामा संस्थाका सल्लाहकार अनन्तराज सिलवाल तथा प्रशिक्षक मुकुन्द ज्ञवालीले नेतृत्व विकास, समय व्यवस्थापन, संस्थागत सुदृढीकरण र प्रभावकारी व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा संस्थागत विकासका लागि स्पष्ट योजना, उत्तरदायित्व र सामूहिक नेतृत्वको महत्वबारे चर्चा गरिएको थियो ।
त्यसैगरी सल्लाहकारहरू भोजराज न्यौपाने, राजेन्द्र कँडेल, लक्ष्मण श्रेष्ठ र अरुण अर्याल तथा कानुनी सल्लाहकार दामोदर घिमिरेले संस्थाको भावी कार्यदिशा, संगठन विस्तार तथा समाजहितका कार्यक्रम सञ्चालनका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरका थिए । वक्ताहरूले संस्थालाई अझ समावेशी, उत्तरदायी र समाजमुखी बनाउँदै लैजान सदस्यहरूबीच सहकार्य, एकता र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यशालामा सहभागी पदाधिकारी तथा सदस्यहरूले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना, प्राथमिकता र नयाँ कार्यक्रमबारे व्यापक छलफल गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धि, सदस्यहरूबीचको एकता तथा सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष वृन्दा भट्टराई आचार्यले प्रमुख अतिथि, प्रशिक्षक, सल्लाहकार, पदाधिकारी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै संस्थालाई थप व्यवस्थित, सशक्त र समाजप्रति उत्तरदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
“रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर हाम्रो अभियान” भन्ने मूल नारासहित सम्पन्न कार्ययोजना कार्यशाला गोष्ठीमा संस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठीले संस्थाको भावी रणनीति तय गर्न तथा संगठनलाई थप गतिशील बनाउने दिशामा महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष हरिहर भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य, कार्यशालाको आवश्यकता र भावी योजनाबारे प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव गणेशप्रसाद सेढाईंले गरेका थिए ।