नारायण भट्टराई /
(आनन्द रामायणमा आधारित कथा)
कुनै वस्तु वा वृक्षको उत्पत्ति र पृथ्वीमा आगमन कसरी भयो होला भन्ने जिज्ञासा प्रायः सबैमा हुन्छ । यस्ता जिज्ञासाको समाधान प्रायः प्रश्नोत्तर तथा धार्मिक आख्यानहरूबाट प्राप्त हुन्छ । यस्तै एउटा जिज्ञासा मेरो मनमा पनि उठिरहेको थियो—स्वर्गका दिव्य वृक्ष मानिने कल्पवृक्ष र पारिजात पृथ्वीमा कसरी आए ? के यसको कुनै विशेष कारण थियो ?
यस प्रश्नको उत्तर आनन्द रामायण मा वर्णित एक रोचक कथामा पाइन्छ । एक समय महर्षि दुर्वासा आफ्ना साठी हजार शिष्यसहित भगवान रामको दर्शन गर्न अयोध्या जान लाग्नुभयो। बाटोमा जाँदै गर्दा उहाँले विचार गर्नुभयो, “भगवान विष्णु स्वयं मानव रूप धारण गरेर पृथ्वीमा अवतरित हुनुभएको कुरा मलाई थाहा छ । तर आज म उहाँको पुरुषार्थ र महिमा संसारलाई देखाउन चाहन्छु ।”
यसरी सोचेर दुर्वासा मुनि आफ्ना शिष्यहरूसहित अयोध्या पुग्नुभयो । सीताको महलको विशाल द्वारमा पुगेपछि चौकीदारले तत्काल रामचन्द्रलाई खबर ग¥यो । समाचार पाउनेबित्तिकै भगवान राम स्वयं त्यहाँ पुग्नुभयो र मुनि तथा उनका सबै शिष्यहरूलाई सम्मानपूर्वक महलभित्र ल्याई उत्तम आसनमा बसाल्नुभयो ।
आसन ग्रहण गरेपछि दुर्वासा मुनिले मधुर स्वरमा भन्नुभयो— “हे महाराज ! आज मेरो हजार वर्षे व्रत सम्पन्न भएको छ । त्यसको अवसरमा म आफ्ना सबै शिष्यहरूसहित यहाँ भोजन गर्न चाहन्छु । तर भोजन तयार गर्न तपाईंसँग केवल एक मुहूर्त (एक घडी) समय छ । साथै भोजन यस्तो हुनुपर्छ, जसको तयारीमा गाई, मणि वा अग्निको प्रयोग नभएको होस् । शिवपूजाका लागि त्यस्तो फूल पनि चाहिन्छ, जुन आजसम्म कुनै मानिसले देखेको नहोस् । यदि यो सम्भव छैन भने स्पष्ट रूपमा असमर्थता जनाइदिनुहोस् ।”
मुनिका यी असाधारण माग सुनेर पनि भगवान राम मुस्कुराउँदै भन्नुभयो— “मुनिवर, तपाईंको आज्ञा शिरोधार्य छ ।”
रामको उत्तरबाट प्रसन्न भएर दुर्वासा मुनि सरयू नदीमा स्नान गर्न जानुभयो र आवश्यक परिकार तयार गर्न आग्रह गर्दै प्रस्थान गर्नुभयो ।
मुनि गएपछि लक्ष्मण, सीता तथा उपस्थित सबैजनामा चिन्ता छायो। एक मुहूर्तमै यति कठिन माग कसरी पूरा गर्ने भन्ने प्रश्न सबैका मनमा उठ्यो । तर भगवान राम शान्त रहनुभयो। उहाँले एउटा पत्र लेखी आफ्नो बाणमा बाँध्नुभयो र धनुषबाट छोड्नुभयो । त्यो बाण वायुगतिमा स्वर्गलोक पुगेर इन्द्रसभामा झ¥यो ।
बाणमा “राम” नाम देखेर इन्द्र चकित भए। पत्र खोलेर हेर्दा त्यसमा लेखिएको थियो— “हे इन्द्र! आज दुर्वासा मुनि आफ्ना साठी हजार शिष्यसहित मेरो निवासमा आउनुभएको छ । उहाँले गाई, मणि वा अग्निबाट नबनेको भोजन तथा शिवपूजाका लागि मानवले कहिल्यै नदेखेको फूल माग्नुभएको छ । त्यसैले क्षीरसागरबाट उत्पन्न भएका कल्पवृक्ष र पारिजात तुरुन्त आदरपूर्वक यहाँ पठाइदिनुहोस् ।”
पत्र पढेपछि इन्द्रले अन्य देवतासँग परामर्श गरी कल्पवृक्ष, पारिजात र केही देवताहरूलाई साथ लिएर तत्काल अयोध्या प्रस्थान गर्नुभयो । लक्ष्मणले उहाँहरूलाई सम्मानपूर्वक रामसमक्ष ल्याउनुभयो । इन्द्रले ती दिव्य वृक्षहरू भगवान रामलाई अर्पण गरे । उता दुर्वासा मुनिले एक शिष्यलाई रामको अवस्था बुझ्न पठाउनुभयो । शिष्यले फर्केर राम र सीता प्रसन्न मुद्रामा बसेको तथा कुनै चिन्ताको चिन्ह नदेखिएको जानकारी दियो । यो सुनेर दुर्वासा मुनि स्वयं आश्चर्यचकित हुनुभयो ।
स्नान सम्पन्न गरी उहाँ शिष्यहरूसहित रामको महलमा आउनुभयो । रामले देवतासहित उठेर मुनिलाई प्रणाम गर्नुभयो र आदरपूर्वक आसन ग्रहण गराउनुभयो । त्यसपछि शिवपूजाका लागि पारिजातको फूल अर्पण गरियो । मानवले पहिले कहिल्यै नदेखेको त्यो दिव्य फूल देखेर दुर्वासा मुनि आश्चर्यचकित भए ।
पछि सीताजीले दिव्य आभूषण धारण गरी कल्पवृक्ष र पारिजातको पूजा गर्नुभयो र प्रार्थना गर्नुभयो— “हे देवताहरूको इच्छा पूरा गर्ने कल्पवृक्ष! आज दुर्वासा मुनि तथा उहाँका शिष्यहरूलाई सन्तुष्ट पार्नुहोस् ।”
सीताको प्रार्थना सुन्नासाथ कल्पवृक्षले असंख्य पात्रहरूमा विभिन्न प्रकारका दिव्य भोजन उत्पन्न गरिदियो । त्यस भोजनले सबै शिष्य तथा दुर्वासा मुनिको सत्कार गरियो। भोजनपश्चात् दुर्वासा अत्यन्त प्रसन्न हुनुभयो ।
त्यसपछि उहाँले भगवान रामको स्तुति गर्दै भन्नुभयो— “हे राम ! तपाईं साक्षात् जगदीश्वर हुनुहुन्छ । रावणको विनाश र धर्मस्थापनाका लागि पृथ्वीमा अवतरित हुनुभएको हो । मैले यी असम्भवजस्ता माग तपाईंको महिमा संसारलाई देखाउनका लागि मात्र गरेको हुँ । तपाईंका लागि यो कुनै कठिन कार्य होइन । सम्पूर्ण देवता तपाईंको आज्ञाको पालना गर्छन् ।”
दुर्वासाले रामको अनेक प्रकारले स्तुति गरी क्षमा याचना गर्नुभयो र आफ्ना शिष्यहरूसहित आश्रमतर्फ प्रस्थान गर्नुभयो । त्यसपछि भगवान रामले इन्द्र तथा देवताहरूलाई कल्पवृक्ष र पारिजात स्वर्गमा फर्काएर लैजान आग्रह गर्नुभयो। तर देवगुरु बृहस्पति ले निवेदन गर्नुभयो— “हे प्रभु! जबसम्म तपाईं पृथ्वीमा रहनुहुन्छ, यी दुवै दिव्य वृक्ष अयोध्यामै रहनेछन् । तपाईं वैकुण्ठधाम फर्किएपछि मात्र यी पनि तपाईंका साथ जानेछन् ।”
भगवान रामले यो प्रस्ताव स्वीकार गर्नुभयो। त्यसपछि देवताहरू आ–आफ्नो लोकमा फर्किए । यसरी कल्पवृक्ष र पारिजात स्वर्गबाट पृथ्वीमा आएका हुन् भन्ने कथा आनन्द रामायण मा वर्णित छ । अयोध्यामा राम र सीता यी वृक्षहरूको छायाँमा विहार गर्नुहुन्थ्यो । रामसहस्रनामको ध्यान तथा उपासनामा पनि कल्पवृक्षको विशेष महत्व रहेको उल्लेख पाइन्छ ।
मान्यता अनुसार पारिजातको महिमा त्यही समयदेखि पृथ्वीमा फैलियो । आज पनि यसलाई भगवान रामलाई प्रिय फूल मानिन्छ । त्यस्तै, पौराणिक विश्वासअनुसार पीपल वृक्षलाई कल्पवृक्षको अंश मानिन्छ । त्यसको पूजा–आराधनाबाट मनोकामना पूर्ण हुने विश्वास रहिआएको छ ।
सत्ययुग, त्रेतायुग र द्वापरयुगमा मानिसहरू पीपलको विशेष श्रद्धाभावका साथ पूजा गर्थे । तर कलियुगमा पाप र भौतिकतावाद बढ्दै जाँदा यसको महत्व बिर्सँदै गएको देखिन्छ । तथापि धर्मग्रन्थहरूमा पीपल, पारिजात र कल्पवृक्षलाई पुण्य, समृद्धि र आध्यात्मिक उन्नतिको प्रतीकका रूपमा वर्णन गरिएको छ ।
अस्तु ।