डब्लुडब्लुजे रुपन्देहीको अध्यक्षमा पुनः तिवारी

1.3K

डब्लुडब्लुजे रुपन्देहीको अध्यक्षमा पुनः तिवारी

क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) रुपन्देहीको अध्यक्षमा पुन: कल्पना तिवारीलाई चयन गरिएको छ । संस्थाको आइतबार बुटवलमा सम्पन्न १६औँ साधारण सभा तथा चौथो अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट संस्थाकाे उपाध्यक्षमा कमला पाण्डे, सचिवमा विन्दु भट्टराई, कोषाध्यक्षमा सावित्रा अर्याल र सहसचिवमा कमला अर्याललाई चयन गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरूमा कल्पना शर्मा, सृजना भट्टराई, मनिशा नेपाली र लक्ष्मी पाण्डेलाई चयन गरिएकाे छ ।
अधिवेशनकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पत्रकारिता र प्रविधिबीचको प्रतिस्पर्धालाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने बताए । उनले प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै प्रविधिको सही प्रयोगबाट पत्रकारितालाई अझ प्रभावकारी बनाउन सकिने धारणा राखे । प्रविधिको दुरुपयोगले पत्रकारिताको विश्वसनीयतामा असर पार्न सक्ने भएकाले पत्रकारहरू थप सचेत र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा क्रियाशील महिला पत्रकार रुपन्देहीले स्थापना गरेको संघर्षशील महिला सम्मानबाट संस्थाकी संस्थापक अध्यक्ष भगवती पाण्डेलाई पुरस्कृत गरिएको छ । पत्रकारिता क्षेत्रमा महिला पत्रकारको योगदान र संस्थाको स्थापनामा पुर्याएको भूमिकाको सम्मानस्वरूप पाण्डेलाई नगद १५ हजार रुपैंया नगद पुरस्कार सहित सम्मान गरिएको हो । यस अगाडि संघर्षशील पत्रकार महिला सम्मानबाट महला पत्रकारहरु कमला कुँवर, ईन्दिरा अर्याल, माया गौतम, दुर्गा पौडेल, इन्दिरा खनाललाई पुरस्कृत गरिसकिएकाे संस्थाले जनाएकाे छ ।
संस्थाकी अध्यक्ष कल्पना तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला पत्रकारहरूको क्षमता तथा नेतृत्व विकास, नीतिगत पैरवी र समाचार लेखनमा संस्थाले जोड दिने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, क्रियाशील महिला पत्रकार रुपन्देहीकी संस्थापक अध्यक्ष भगवती पाण्डे तथा सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोलले शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले पत्रकारितामा महिलाको सहभागिता र बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारिताको गुणस्तर, विश्वसनीयता र व्यावसायिकता जोगाउनुपर्नेमा जोड दिएका थिए । संस्थाकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक हरिकला अधिकारी (कमला पाण्डे)को स्वागत तथा सचिव बिन्दु भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार सम्बद्ध संस्थाका अध्यक्ष एवं प्रतिनिधि,सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि र रुपन्देहीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।