अनाथ आश्रमलाई रोटरीको सहयोग

1.3K

अनाथ आश्रमलाई रोटरीको सहयोग

सामाजिक सेवामा क्रियाशिल राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले तिलोत्तमा–६, मणिग्राम बीपी मार्गस्थित रामचन्द्र–मैनादेवी अनाथ आश्रममा आश्रित बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आर्थिक सहयोग गरेको छ ।
क्लबकाे साप्ताहिक नियमित बैठककाे अवसरमा शनिबार आश्रममै कार्यक्रम गरि आश्रमलाई ७ हजार २ सय ७५ रुपैयाँ सहयोग गरेको हो । आश्रममा हाल १३ जना अनाथ तथा असहाय बालबालिका आश्रित छन् । उनीहरू कक्षा १२ सम्म अध्ययनरत छन् ।
क्लबका अध्यक्ष देवीलाल भट्टराईले आश्रममा आश्रित बालबालिकाको लालनपालन तथा शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । उनले आगामी दिनमा पनि आश्रमको आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दीपक भट्टराई, पूर्वअध्यक्षहरू नवीन श्रेष्ठ र निरज भट्टराई तथा बोर्ड सदस्य भीम कुँवरले रोटरी क्लबले सामाजिक क्षेत्रमा गर्दै आएका विभिन्न गतिविधिबारे धारणा राखेका थिए ।
आश्रमकी संरक्षक मैनादेवी भण्डारीले आश्रमबाट हालसम्म ४० जना विद्यार्थी अध्ययन पूरा गरी सक्षम भएर बाहिरिएको जानकारी दिइन् । उनका अनुसार आश्रमबाट अध्ययन पूरा गरेका बालबालिकाले अहिले विभिन्न क्षेत्रमा राम्रो रोजगारी तथा जीविकोपार्जन गरिरहेका छन् । आश्रमका पूर्वआश्रितमध्ये इन्जिनियर, ओभरसियरलगायत विभिन्न पेशामा कार्यरत रहेको उनले बताइन् । भण्डारीले आश्रमले बालबालिकाको शिक्षा र भविष्य निर्माणमा निरन्तर ध्यान दिँदै आएको बताइन् ।
कार्यक्रममा आश्रममा आश्रित कक्षा १२ का विद्यार्थी सुरेन्द्र बानियाँले आफूहरूले आश्रमबाट पाएको माया, संरक्षण र शिक्षामा प्राप्त सहयोगबारे अनुभव सुनाए । उनले आफूले लेखेको ‘कर्णायण’ कविता संग्रहसमेत आश्रमको सहयोगमा प्रकाशन भएको जानकारी दिए । बानियाँले कविता संग्रहका बारेमा चर्चा गर्दै आश्रमले आफ्नो प्रतिभा पहिचान र प्रोत्साहनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।