भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति बुटवल उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त

1.3K

भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति बुटवल उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षतिप्रति बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गहिरो दुःख व्यक्त गरेको छ । संघले बाढीका कारण जनधनसहित बजार, बस्ती, जलविद्युत् केन्द्र, यातायातका संरचना, सरकारी तथा सुरक्षा निकायका संरचना, भन्सार र बैंकलगायतका क्षेत्रमा भएको क्षतिप्रति स्तब्ध भएको जनाएको छ ।
प्राकृतिक विपद्मा परी ज्यान गुमाउने मृतकप्रति संघले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै बाढी तथा पहिरोमा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्मा परेका परिवारलाई तत्काल सुरक्षित आवास र खाद्यान्नको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । यस्तो संकटको समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन उद्योगी–व्यवसायी तथा आम नागरिकलाई समेत सक्दो सहयोग गर्न संघले अपिल गरेको छ । संघले प्राकृतिक विपद्का बेला मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सबै पक्षबीच सहकार्य गर्न पनि अपिल गरेको छ ।