चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लाका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले दुःख व्यक्त गरेको छ ।
क्लबले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले क्लबले ५० हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष गोविन्दप्रसाद भुसालले जानकारी दिएका छन् ।
क्लबले विपद्को यस कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै प्रभावित बालबालिका तथा परिवारमा आशा जगाउन सबै पक्षलाई सहयोग र सहकार्यका लागि आह्वानसमेत गरेको छ। किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले बालबालिका तथा समुदायको हितमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । विपद्का बेला मानवीय सहयोगलाई प्राथमिकता दिँदै क्लबले राहत अभियानमा समेत आफ्नो सहभागिता जनाएको हो ।