जनैपूर्णिमामा तीर्थस्थलमा वर्षाको जोखिम : गोसाइँकुण्डदेखि पाँचपोखरीसम्म सावधानी अपनाउन आग्रह

1.3K

जनैपूर्णिमामा तीर्थस्थलमा वर्षाको जोखिम : गोसाइँकुण्डदेखि पाँचपोखरीसम्म सावधानी अपनाउन आग्रह

जनैपूर्णिमा पर्व नजिकिँदै गर्दा देशका प्रमुख धार्मिक तथा तीर्थस्थलमा वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबारका लागि जारी गरेको विशेष मौसम पूर्वानुमानमा अधिकांश धार्मिक क्षेत्रमा अपराह्नपछि वर्षा हुने प्रक्षेपण गरेको हो ।
महाशाखाका अनुसार गोसाइँकुण्ड, पाँचपोखरी, जटापोखरी र शैलुङ क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी छ । ती क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुनसक्ने तथा रातिको समयमा एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।
रसुवाको गोसाइँकुण्ड क्षेत्रमा शुक्रबार अपराह्नदेखि धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । शुक्रबार राति र शनिबार राति पनि केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । जनैपूर्णिमामा गोसाइँकुण्डमा ठूलो संख्यामा श्रद्धालु पुग्ने भएकाले मौसम प्रतिकूल भए यात्रा जोखिमपूर्ण हुनसक्ने देखिएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा शुक्रबार अपराह्नदेखि धेरै ठाउँमा मध्यम वर्षा हुने र राति एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार पनि अपराह्नपछि केही स्थानमा मध्यम वर्षा तथा राति एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको अनुमान छ ।
दोलखा–रामेछाप सीमामा पर्ने जटापोखरी तथा दोलखाको शैलुङ क्षेत्रमा पनि दुवै दिन वर्षाको सम्भावना रहेको छ । यी क्षेत्रमा रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले तीर्थयात्रामा निस्कनेहरूले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने देखिएको छ ।
यसैगरी काठमाडौंको मणिचूड दह, ललितपुरको कुम्भेश्वर मन्दिर, बाजुराको बडीमालिका, जुम्लाको दानसाधु, नवलपरासीको त्रिवेणीधाम र धनुषाको जनकपुरधाम क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले अधिकांश क्षेत्रमा अपराह्नपछि वर्षाको सम्भावना रहेकाले धार्मिक कार्यक्रममा सहभागी हुनेहरूले बिहानको मौसम अनुकूल भए पनि दिउँसो र रातिको मौसमलाई समेत ध्यान दिन आग्रह गरेको छ ।