तिब्बती क्षेत्रमा फेरी ताल फुट्यो : नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

1.3K

तिब्बती क्षेत्रमा फेरी ताल फुट्यो : नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
नेपाल प्रहरीले शुक्रबार सूचना जारी गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीदेखि नदी आसपासका सर्वसाधारणसम्मलाई तत्काल सचेत रहन आग्रह गरेको हो । यसअघि पनि तिब्बततर्फबाट आएको बाढीले रसुवास्थित भोटेकोशी नदी क्षेत्र हुँदै तल्लाे तटिय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन सूचना प्रवाह गरिएको छ ।
चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको बताइएको छ । छोचेन खोला र पुरेपु त्साङ्पो भोटेकोशी नदी प्रणालीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन् ।
ताल फुटेपछि त्यसबाट निस्किएको पानीको बहावले तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हाे ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन भइरहेका छन् । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीका कारण सुरक्षाकर्मी तथा सर्वसाधारणसमेत सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ ।