नेपाल जुत्ता–चप्पल उत्पादक संघ, लुम्बिनी प्रदेश शाखाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि करिब ३० लाख रुपैयाँ बराबरको जुत्ता–चप्पल सहयोग गर्ने भएको छ ।
संघको आइतबार बसेको बैठकले बाढी प्रभावित परिवारलाई विपद्को समयमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले १५ हजार जोर जुत्ता तथा चप्पल उपलब्ध गराउने निर्णय गरेको हो ।
संघका अध्यक्ष यज्ञप्रसाद भुर्तेलका अनुसार लुम्बिनी प्रदेशका विभिन्न जुत्ता–चप्पल उद्योगको सहकार्यमा उक्त सामग्री संकलन गरी बाढी प्रभावित परिवारसम्म पुर्याइनेछ ।
सहयोगअन्तर्गत एभरेस्ट फुटवेयर प्रालि, बुटवलले ४ हजार जोर, आस्था फुटवेयरले २ हजार १ सय जोर, ग्यालेक्सी नेपाल फुटवेयर, कपिलवस्तुले २ हजार जोर, ग्लोबल फुटवेयर इन्डस्ट्रिज, चन्द्रौटाले १ हजार ५ सय जोर, फस्ट स्टेप इन्डस्ट्रिजले १ हजार ५ सय जोर, युनिभर्सल सुज इन्डस्ट्रिजले १ हजार १ सय जोर, सिटी वाक फुटवेयरले १ हजार १ सय जोर, मुन स्टार फुटवेयर प्रालि, इमिलियाले १ हजार जोर तथा शिव प्लाष्टिकले ५ सय जोर जुत्ता–चप्पल उपलब्ध गराउने भएका छन् ।
अध्यक्ष भुर्तेलले विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई राहतस्वरूप आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योगी व्यवसायीको सहकार्यमा सहयोग अभियान अघि बढाइएको बताए ।
उनले विपद्को समयमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित समुदायसँग हातेमालो गर्नुपर्ने बताउँदै बाढीपीडितलाई तत्काल आवश्यक पर्ने सामग्री सहयोगका रूपमा उपलब्ध गराउन लागिएको जानकारी दिए ।