पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख १ रुपैयाँ सहयोग गरेको छ ।
एशोसियसनले आइतबार बुटवलस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी उक्त सहयोगबारे जानकारी गराएको हो । एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आबद्ध पेट्रोलियम व्यवसायीबाट संकलित रकममा संस्थाका तर्फबाट थप रकम जुटाएर राहत कोषमा सहयोग गरिएको बताए । उनका अनुसार एशोसियसनमा आबद्ध ७० जना व्यवसायीले सहयोग रकम उपलब्ध गराएका छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष गैरेले विपद्को यस अवस्थामा सबै क्षेत्रबाट मानवीय सहयोगका हात अघि बढाउन आग्रह गरे ।
अध्यक्ष गैरेले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनअन्तर्गतका क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा कुनै समस्या नरहेको जानकारी दिए । उनले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पेट्रोलियम पदार्थको बिक्रीमा उल्लेख्य उतारचढाव नआएको बताए । कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष प्रेम न्यौपानेले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबै नेपालीलाई आग्रह गरे ।
कार्यक्रममा एशोसियसनका महासचिव डासीराम अधिकारीले राहत कोषमा सहयोग गर्ने व्यवसायीमध्ये प्रेमराज गैरेले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, भरतजङ्ग कुँवरले २ लाख ११ हजार १११ रुपैयाँ, मङ्गलप्रसाद मानन्धरले १ लाख ६४ हजार, हिमाल गैरेले १ लाख ५३ हजार, रियाज मोहम्मदले १ लाख ५१ हजार ५००, मोहम्मद अनिसले १ लाख ५१ हजार, रत्ना काउचाले १ लाख ११ हजार १११, रिखु जोशीले १ लाख १० हजार ५५५, यमप्रसाद पोखरेलले १ लाख ५ हजार ५५५, सन्तबहादुर पौडेलले १ लाख १ हजार ६९९, कमल थापाले १ लाख २ हजार, लोकप्रसाद भुसालले १ लाख १ हजार १११, नवराज भट्टराईले १ लाख १ हजार, सुनिल थापाले १ लाख ५८१ र इस्लाम खानले १ लाख रुपैयाँ सहयोग गरेको जानकारी गराएका थिए ।