बुटवल हस्पिटलद्वारा राहत कोषमा झण्डै ८ लाख सहयोग

1.3K

बुटवल हस्पिटलद्वारा राहत कोषमा झण्डै ८ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल हस्पिटल प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्माको पनि उपस्थिति थियो ।
अस्पतालका अध्यक्ष पौडेलले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताए । उहाँले विपद्को घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गरे ।
बुटवल हस्पिटलले यसअघि पनि प्रभावित क्षेत्रमा जाने अभियन्ता तथा सहयोगी समूहहरूमार्फत औषधिजन्य सामग्री उपलब्ध गराएको जनाएको छ । अस्पतालले विपन्न तथा असहाय नागरिकलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।
बुटवलको ज्योतिपथमा रहेको एक सय शय्या क्षमताको बुटवल हस्पिटल २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि तथा पूर्वाधारमार्फत विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।
अस्पतालले विपद्का बेला प्रभावित नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य सेवामा थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।