बुटवलको हिलपार्कमा नेपालमै पहिलो सप्तर्षि धाम निर्माण

1.3K

बुटवलको हिलपार्कमा नेपालमै पहिलो सप्तर्षि धाम निर्माण

बुटवलको हिलपार्कमा नेपालमै पहिलो सप्तर्षी धाम निर्माणसंगै उक्त मन्दिरमा सप्तऋषिको प्राण प्रतिष्ठा गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ७ हिलपार्क परिषरमा
सप्तर्षि धाम नेपाल अध्यक्ष यदुनाथ पाण्डेका अनुसार यही भदौ २७ देखि २९ गतेसम्म प्राण प्रतिष्ठा तथा विविध धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो । वैदिक परम्परा, धर्म, ज्ञान र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको सप्तर्षि धाममा वैदिक विधिअनुसार सप्तर्षि मूर्ति स्थापना गरिएको हो । कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी लोकानन्द जी महाराज र स्वामी सनातनन्द सरस्वती महाराजलगायतका सन्त तथा वैदिक विद्वानको सहभागिता रहेको थियो ।
अध्यक्ष पाण्डेका अनुसार कार्यक्रममा धार्मिक तथा आध्यात्मिक प्रवचन, पूजा, अनुष्ठानलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । सप्तर्षि धामलाई धार्मिक आस्थाको केन्द्रसँगै मानव सभ्यताका ज्ञान, संस्कार र संस्कृतिलाई एकै ठाउँमा जोड्ने ज्ञान–पीठका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
धामले हिन्दुधर्ममा आस्थावान सबै गोत्र, समुदाय र संस्कृतिबीच सद्भाव, एकता र मानव कल्याणको भावना प्रवद्र्धन गर्ने उद्देश्य लिएको उनले जानकारी गराए । त्यस्तै भोली भदौ ३० गते उक्त सप्तर्षी धाममा पञ्चमी पूजा गरिने जानकारी गराउँदै पञ्चमी पुजामा सहभागि हुन पनि आह्वान गरिएको छ ।