शुक्रबारदेखि आइतबारसम्म अति भारी वर्षाको सम्भावना

1.3K

शुक्रबारदेखि आइतबारसम्म अति भारी वर्षाको सम्भावना

आगामी शुक्रबारदेखि आइतबारसम्म अति भारी वर्षाकाे सम्भावना देखिएकाे छ । मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा अति भारी वर्षासमेत हुनसक्ने छ ।
महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेर मधेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे बताएकाे छ । कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’मा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । सोही प्रणालीको प्रभावले बुधबार (आज) देखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ ।
सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नुका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाको चेतावनी छ । धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई मौसमको अवस्थाबारे जानकारी लिएर कृषि विज्ञको सल्लाहअनुसार काम गर्न आग्रह गरिएको छ ।
यसैगरी, हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।