कांग्रेस महाधिवेशनको मूल प्रश्न : कसको कांग्रेस होइन, कस्तो कांग्रेस ?

1.3K

कांग्रेस महाधिवेशनको मूल प्रश्न : कसको कांग्रेस होइन, कस्तो कांग्रेस ?

रामराज पोख्रेल /

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अहिले निर्णायक चरणमा प्रवेश गरेको छ । वडा तहबाट सुरु भएको अधिवेशन गाउँ–नगर हुँदै प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय तहसम्म पुगिसकेको छ । पार्टीको महाधिवेशन तालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा तहका अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् भने असोज ८ गतेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ ।
यो प्रक्रिया अघि बढ्दै गर्दा मनमा एउटै प्रश्न बारम्बार उठ्छ—हामी महाधिवेशनमा केवल प्रतिनिधि पठाउँदैछौँ कि पार्टीको भविष्य बोकेका विचार पनि पठाउँदैछौँ ?
यो प्रश्न कसैलाई आरोप लगाउनका लागि होइन । करिब तीन दशक समय पत्रकारितामा बिताएर नेपाली समाज, राजनीति र लोकतान्त्रिक आन्दोलनलाई नजिकबाट नियालेको एक नागरिकका रूपमा उठाएको प्रश्न हो । सत्ता, संगठन र नेतृत्वका अनेक उतारचढाव देखेपछि, लोकतन्त्रका लागि भएका आन्दोलन र तिनसँगै बदलिँदै गएका नागरिक अपेक्षालाई नजिकबाट नियालेपछि, आज कांग्रेसको महाधिवेशन हेर्दा मेरो चासो ‘को नेता बन्छ ?’ भन्नेमा होइन, ‘कस्तो राजनीतिक संस्कार स्थापित हुन्छ ?’ भन्नेमा छ ।

आकांक्षा ठीक, तर पदकेन्द्रित प्रतिस्पर्धा जोखिमपूर्ण

नेपाली कांग्रेसभित्र आज नेतृत्वमा आउन चाहनेको संख्या ठूलो छ । आकांक्षा राख्नु लोकतन्त्रकै सुन्दर पक्ष हो, प्रतिस्पर्धा हुनु स्वाभाविक कुरा हो । तर प्रतिस्पर्धा केवल पदका लागि सीमित भयो भने महाधिवेशनले नयाँ अनुहार त दिन सक्छ, नयाँ राजनीतिक दिशा दिन सक्दैन ।
महाधिवेशनको वास्तविक अर्थ नेतृत्व परिवर्तन मात्र होइन । यो आत्मसमीक्षा गर्ने, विगतबाट सिक्ने, वर्तमानको मूल्याङ्कन गर्ने र भविष्यको बाटो तय गर्ने पार्टीको सर्वोच्च राजनीतिक मञ्च हो । त्यसैले यसपटक गम्भीर भएर सोच्नुपर्छ । प्रतिनिधि छनोट गर्दा हामीले व्यक्ति हेर्ने कि विचार ? निकटता हेर्ने कि क्षमता ? गुट हेर्ने कि दृष्टिकोण ?

पत्रकारिताले सिकाएको पाठ

२०५४ सालदेखि पत्रकारितामा निरन्तर जोडिँदै आउँदा नेपालका धेरै राजनीतिक परिवर्तन र उतारचढावलाई नजिकबाट नियाल्ने अवसर पाएँ । पत्रकार महासंघको जिल्ला तहदेखि केन्द्रीय तहसम्मका जिम्मेवारीमा रहँदा पत्रकारिता क्षेत्रका समस्या, प्रेस स्वतन्त्रताका प्रश्न र राजनीतिक नेतृत्वसँग सञ्चार क्षेत्रको सम्बन्ध नजिकबाट बुझ्ने मौका पनि मिल्यो ।
२०६२÷६३ को जनआन्दोलन होस् वा त्योभन्दा अघिको द्वन्द्वग्रस्त र असहज परिस्थिति, त्यो समय केवल समाचार लेख्ने समय थिएन । नागरिक अधिकार र लोकतान्त्रिक मूल्यका लागि समाजले ठूलो मूल्य चुकाइरहेको समय थियो । त्यस क्रममा पत्रकारमाथि भएका दबाब र धम्की, पत्रकारिताकै कारण अदालतसम्म पुग्नुपरेको परिस्थिति—यी सबैले एउटै पाठ सिकाए ः लोकतन्त्र कमजोर हुँदा सबैभन्दा पहिले विचार र प्रश्न गर्ने अधिकार नै कमजोर हुन्छ । त्यसैले आज कुनै पनि दलको महाधिवेशन हेर्दा म निर्वाचन प्रक्रियाभन्दा माथि एउटै कुरा खोज्छु—त्यहाँ विचारको सम्मान कति छ ?

बीपीको नाम लिन सजिलो, विचार बोक्न कठिन

नेपाली कांग्रेसको इतिहास बीपी कोइरालाको विचार र लोकतान्त्रिक संघर्षसँग गाँसिएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पार्टीले आफ्नो वैचारिक आधार बनाउँदै आएको छ । आधिकारिक सिद्धान्तमा पनि लोकतन्त्र, समाजवाद, राष्ट्रियता, मानव अधिकार र विधिको शासनलाई महत्व दिइएको छ । बीपीको मान्यता थियो कि राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अलग–अलग बुझ्न सकिँदैन ।
प्रश्न यो होइन कि हामी बीपीलाई कति सम्झिन्छौँ । प्रश्न हो, सम्झँदा उहाँको विचार कति बुझ्छौँ ? बीपीको तस्बिर राखेर भाषण गर्नु सजिलो छ, तर उहाँका विचारलाई आजको पुस्ताका समस्या समाधान गर्ने नीतिमा रूपान्तरण गर्नु कठिन छ ।
अहिलेको नेपालसामु रोजगारीको प्रश्न छ, युवाको विदेश पलायनको प्रश्न छ, शिक्षा र स्वास्थ्यको गुणस्तरको प्रश्न छ, कृषि र उत्पादनको प्रश्न छ, डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ताले ल्याएको चुनौतीको प्रश्न छ, भ्रष्टाचार र सुशासनको प्रश्न छ, संघीयता र राज्य पुनर्संरचनाको प्रश्न छ । यी प्रश्नको उत्तर खोज्ने कांग्रेस चाहिएको हो कि केवल पुराना नारा दोहो¥याउने ? महाधिवेशन प्रतिनिधिले यही प्रश्न नेतृत्वसँग सोध्न सक्नुपर्छ ।

गणेशमानको त्याग : पदभन्दा माथिको राजनीतिक संस्कार

नेपाली लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहको स्थान विशिष्ट छ । उहाँको राजनीतिक जीवनले पदभन्दा आन्दोलन, व्यक्तिगत स्वार्थभन्दा लोकतान्त्रिक उद्देश्य र सत्ता–प्राप्तिभन्दा लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिने संस्कार देखाउँछ । उहाँलाई सम्झँदा तस्बिरमा फूल चढाएर मात्र पुग्दैन; उहाँले देखाएको संस्कारलाई पार्टीको वर्तमान व्यवहारसँग तुलना गर्नुपर्छ । पद नै राजनीति र राजनीति नै पद बन्न थाल्यो भने विचार कहाँ रहन्छ ?

वडा अधिवेशनको वास्तविक महत्व

महाधिवेशनको सबैभन्दा महत्वपूर्ण तह वडा हो, किनभने केन्द्रीय नेतृत्वको भविष्यको एउटा आधार त्यहीँबाट तयार हुन्छ । वडामा चयन हुने प्रतिनिधि केवल स्थानीय संगठनका प्रतिनिधि होइनन्, उनीहरू महाधिवेशनको ठूलो राजनीतिक प्रक्रियाका सहभागी हुन् । त्यसैले वडा तहमै ‘कांग्रेसलाई अब कहाँ लैजाने ?’ भन्ने स्वस्थ बहस हुनुपर्ने थियो ।
तर प्रतिनिधि छनोटको आधार केवल ‘फलानोको मान्छे’, ‘फलानो समूह’ वा ‘फलानो नेतासँग निकटता’ भयो भने पार्टीको आन्तरिक लोकतन्त्र नै कमजोर हुने जोखिम रहन्छ । कसैसँगको व्यक्तिगत सम्बन्ध वा निकटता आफैँमा गलत होइन, तर त्यसलाई विचार र क्षमतामाथि हावी हुन दिनु दीर्घकालमा संगठनकै लागि प्रश्न बन्न सक्छ ।

प्रतिनिधि कस्तो हुनुपर्छ ?

प्रतिनिधि चयन गर्दा कम्तीमा छवटा आधारमा गम्भीर बहस हुनुपर्छ ः
१. विचार ः पार्टी किन स्थापना भयो, यसको वैचारिक आधार के हो, आजको सन्दर्भमा त्यसको अर्थ के हो भन्ने प्रश्नको उत्तर प्रतिनिधिसँग हुनुपर्छ ।
२. सिद्धान्तप्रतिको प्रतिबद्धता : सिद्धान्त चुनाव जित्ने बेला मात्र सम्झिने विषय होइन; कठिन समयमा पनि सिद्धान्तको पक्षमा उभिन सक्ने चरित्र चाहिन्छ ।
३. लोकतान्त्रिक संस्कार : फरक विचार सुन्ने, असहमतिको सम्मान गर्ने र बहुमतको निर्णय स्वीकार्ने क्षमता लोकतन्त्रकै आधार हो ।
४. योगदान : पार्टी र समाजका लागि निरन्तर सक्रियता कि केवल चुनावकेन्द्रित उपस्थिति ?
५. भविष्यको दृष्टिकोण : आगामी पाँच–दस वर्षमा कांग्रेसले नेपाललाई कहाँ पु¥याउने भन्नेमा आफ्नै स्पष्ट धारणा ।
६. नैतिक राजनीतिक चरित्र : विचार मात्र पर्याप्त हुँदैन, सार्वजनिक जीवनमा विश्वास कायम राख्ने व्यवहार पनि उत्तिकै महत्वपूर्ण हो ।

व्यक्ति आवश्यक छ, तर व्यक्ति नै सबथोक होइन

राजनीतिमा व्यक्तित्वको महत्व नकार्न सकिँदैन । जनताले नेताको चरित्र, क्षमता र व्यवहार हेर्छन्; कार्यकर्ताको आफ्ना नेतासँग भावनात्मक सम्बन्ध पनि हुन्छ । तर पार्टी व्यक्तिकेन्द्रित हुँदै जाँदा संस्थागत निर्णय प्रक्रिया कमजोर बन्छ । आज एउटा नेता बलियो होला, भोलि अर्को आउला, तर पार्टी संस्थाका रूपमा कमजोर भयो भने कुनै एक व्यक्तिले त्यसलाई दीर्घकालसम्म धान्न सक्दैन । त्यसैले अहिले कांग्रेसका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न ‘कसको कांग्रेस?’ भन्दा ‘कस्तो कांग्रेस ?’ हुनुपर्छ ।

नयाँ पुस्तासँगको संवाद

आजको युवा पुस्ता राजनीतिलाई सामाजिक सञ्जालबाट हेर्छ, संसारसँग प्रत्यक्ष जोडिन्छ, रोजगारी, उद्यमशीलता, प्रविधि र व्यक्तिगत स्वतन्त्रताबारे नयाँ ढंगले सोच्छ । उसलाई केवल इतिहास सुनाएर आकर्षित गर्न सकिँदैन, भविष्य देखाउनुपर्छ । कांग्रेसले युवालाई झन्डा बोक्ने वा नाराबाजी गर्ने भूमिकाबाट माथि उठाएर नीति निर्माण र नेतृत्व विकासमा साझेदार बनाउनुपर्छ ।
प्रश्न गर्नु विरोध होइन
पत्रकारिताले सिकाएको एउटा पाठ हो—प्रश्न गर्नु विरोध होइन । सत्तासँग प्रश्न गर्नु लोकतन्त्रको हिस्सा हो; दलभित्र प्रश्न गर्नु पनि उत्तिकै लोकतान्त्रिक संस्कार हो । ‘तपाईंको नीति के हो?’, ‘पाँच वर्षको योजना के हो ?’, ‘युवाका लागि दृष्टिकोण के हो ?’, ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र कसरी बलियो बनाउने ?’, ‘भ्रष्टाचार र सुशासनबारे धारणा के हो ?’—यस्ता प्रश्न सोध्नु नै राजनीतिक चेतनाको अभिव्यक्ति हो ।
महाधिवेशन प्रतिनिधिले कसलाई मत दिने भन्ने अन्ततः उसको आफ्नै राजनीतिक विवेकको विषय हो । तर त्यो विवेक प्रयोग गर्दा व्यक्ति, सम्बन्ध, समूह र तात्कालिक लाभभन्दा माथि उठेर पार्टीको दीर्घकालीन भविष्य पनि हेर्न सकियो भने मात्र महाधिवेशनको अर्थ फराकिलो बन्दछ । प्रतिनिधि कुनै नेताको मतदाता मात्र होइन, पार्टीको राजनीतिक भविष्यको निर्णायक सहभागी पनि हो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अर्को पाँच वर्षको नेतृत्व चयन गर्ने अवसर मात्र होइन, यो आफ्नै राजनीतिक यात्रालाई ऐनामा हेर्ने अवसर पनि हो । विगतका कमजोरी स्वीकार्ने साहस, वर्तमानका चुनौती पहिचान गर्ने क्षमता र भविष्यको बाटो कोर्ने दृष्टि—यी तीनवटै कुरा महाधिवेशनबाट देखिनुपर्छ । किनकि लोकतन्त्र केवल निर्वाचनबाट जीवित रहँदैन; यो विचारको स्वतन्त्रता, संस्थाको सम्मान, असहमतिप्रतिको सहिष्णुता र नेतृत्वसँग प्रश्न गर्ने अधिकारबाटै जीवित रहन्छ । कांग्रेस आफैँ लोकतन्त्रको लामो संघर्षबाट जन्मिएको पार्टी हो, त्यसैले यसभित्रको लोकतन्त्र पनि नेपाली लोकतन्त्रकै एउटा महत्त्वपूर्ण हिस्सा हो ।
बीपीले देखाएको लोकतान्त्रिक आदर्श, गणेशमानले देखाएको त्याग र संघर्षको संस्कार, र कांग्रेसले अंगीकार गरेको राष्ट्रियता–लोकतन्त्र–समाजवादको वैचारिक आधारलाई आजको पुस्ताको आवश्यकता र भोलिको नेपालको सपनासँग जोड्न सकियो भने मात्र यो महाधिवेशनको सार्थकता देखिनेछ ।
त्यसैले यसपटक प्रतिनिधि छनोट गर्दा एउटा कुरा मनन गरौँ—व्यक्ति रोजौँ, तर विचार बुझेर। नेतृत्व रोजौँ, तर दृष्टिकोण हेरेर। प्रतिनिधि रोजौँ, तर भविष्य सोच्न सक्ने क्षमता हेरेर। किनकि महाधिवेशनमा पुग्ने प्रत्येक प्रतिनिधि केवल एउटा मत होइन, ऊ कांग्रेसको भोलिको दिशाको एउटा आवाज हो । र ती आवाज कस्ता हुन्छन् भन्ने कुराले नै १५औँ महाधिवेशनपछि कांग्रेस कस्तो देखिन्छ भन्ने कुराको महत्वपूर्ण जग तय गर्नेछ ।