नेपालमा केही दिनदेखि प्रभावित मौसम प्रणाली कमजोर हुँदै गएसँगै देशभरको मौसममा क्रमिक सुधार आएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार वर्षा राेकिएकाे छ । विभागले मौसममा सुधार हुँदै गए पनि केही स्थानमा वर्षा, मेघगर्जन तथा चट्याङको सम्भावना कायमै रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
गत सेप्टेम्बर १९ मा उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ मा परिणत भएको थियो । उक्त प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको ओडिसाबाट जमिनमा प्रवेश गरेको थियो ।
त्यसपछि उत्तर-उत्तरपश्चिम दिशातर्फ सर्दै कमजोर भएको उक्त प्रणाली अहिले भारतको उत्तर प्रदेश आसपास ‘वेल मार्क्ड लो प्रेसर एरिया’का रूपमा रहेको छ । यो प्रणाली थप कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा रहने भएकाले नेपालमा प्रभावित मौसम प्रणाली क्रमशः कमजोर हुँदै मौसम सुधारको अवस्थामा पुगेको विभागले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।