भारतसँगका असमझदारी अन्त्य भएका छन्: प्रधानमन्त्री ओली

162

भारतसँगका असमझदारी अन्त्य भएका छन्: प्रधानमन्त्री ओली

oli g

काठमाडौं/भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपालबीच केही महिनादेखिका असमझदारी अन्त्य भएको बताएका छन्। हैदरबाद हाउसमा शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुमै आफू दु्ई देशको सम्बन्धमा देखिएका असमझदारी अन्त्य गरी सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन भारत आएको बताए।उनले नेपालमा ऐतिहासिक रुपमा नयाँ संविधान जारी भएको उल्लेख गर्दै अब नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताए।ओलीले भारतले शान्ति प्रक्रियाको सुरुदेखि नै संविधान निर्माणसम्म नेपाललाई सहयोग गरेको बताए। उनले वैशाख १२ को भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोगका लागि धन्यावाद दिए। उनले नेपालमा जलविद्युत विकासका लागि मोदीसँग कुरा भएको उल्लेख गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए।सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले केही महिनादेखि दुई देशका बीच देखिएका असमझदारी अन्त्य भएको बताए। यसअघि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नयाँ संविधान नेपालको महत्वपूर्ण उपलब्धि भएको बताउँदै  त्यसको कार्यान्वयनमा सबै पक्षलाई समेटेर  जानुपर्ने बताएका थिए। आफ्नो सम्बोधनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका बीचमा केही महिना पहिले देखिएको असमझदारीबारे उल्लेख नै गरेका थिएन।मोदीले आजको दिन भारत र नेपालको इतिहासमा महत्वपूर्ण भएको बताउँदै भारतले सँधै नेपाली जनताको भावनाको सम्मान गरेको बताएका थिए। असोज ३ गते नेपालमा संविधान जारी भएपछि भारतीय नाकाबाट नेपालमा इन्धन लगायतका अत्यावश्यक सामग्रीको आयात रोकिएको थियो।नेपाली पक्षले यसलाई भारतीय अघोषित नाकाबन्दी बताए पनि भारतीय पक्षले मधेसी मोर्चाको अवरोध सीमामा समस्या भएको जिकिर गर्दै  कुनै किसिमको नाकाबन्दी नभएको बताउँदै आएको थियो।