हैदरावादमा सम्पन्न ७ बुँदे समझदारी

591

हैदरावादमा सम्पन्न ७ बुँदे समझदारी

kp-oli-narendra-modi.jpgहैदरावाद/हैदरावाद हाउसमा तामझामका साथ गरिएका सातवटा समझदारीमा के-के छन् भन्ने चासो नेपालीहरुमा हुनु स्वाभाविकै हो । तर, यी समझदारी त्यस्ता छन्, जुन विगतकै समझदारीहरुको कार्यान्वयनबारे दोहोर्‍याइएका प्रतिवद्धता हुन् । जुन, यसप्रकार छन्ः

पहिलो समझदारीः भूकम्पपछिको पुनर्निर्माण

भूकम्पपछि भारत सरकारले घोषणा गरेको २५० मिलियन अमेरिकी डलर बराबरको सहयोग प्याकेजलाई प्रयोग गर्नेबारे भएको सहमतिपत्रमा परराष्ट्रमन्त्री कमल थापा र भारतीय समकक्षी सुष्मा स्वराजले हस्ताक्षर गरेका छन् ।

यसमा भारतीय सहयोगलाई चारवटा क्षेत्रमा फोकस गर्ने सहमति भएको छ । ती क्षेत्रहरुमा हाउजिङ, स्वास्थ्य, शिक्षा र सांस्कृतिक सम्पदालाई छुट्याइएको छ ।

भूकम्पका क्षति पुगेका १४ जिल्लामा ५० हजार घर निर्माणका लागि १ सय मिलियन डलर खर्च गरिने भएको छ । त्यस्तै ३१ वटा भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य, शिक्षा तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा ५० मिलियन खर्च गरिने छ । शिक्षा र स्वास्थ्य क्षेत्रअन्तरगत विद्यालय एवं स्वास्थ्य कार्यालयहरु बनाउन भारतीय सहयोग खर्च गरिनेछ ।

दोस्रो समझदारीः तराईको हुलाकी सडक

तराईको हुलाकी सडक विस्तारका लागि भएको अर्को समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले हस्ताक्षर गरेका छन् ।

यस अन्तरगत तराईमा जारी सडक निर्माण प्रोजेक्टलाई तीव्र गतिमा कार्यान्वयन गरिने उल्लेख छ । प्याकेजमा रहेका पहिलो चरणका २,३,४,५ र ६ नम्बरका प्रोजेक्टहरुमा पर्ने ५ सय १८ किलोमिटर सडकको निर्माण सम्पन्न गरिने छ ।

प्याकेज नं १ अन्तरगत पर्ने ८७ किमी सडकखण्ड पहिल्यै सम्पन्न भइरहेको सहमतिपत्रमा उल्लेख छ ।

तेस्रो समझदारीः नर्तक एवं कलाकार आदान-प्रदान

भारतसँग गरिएको तेस्रो समझदारी हो संगीत तथा नाट्य एकेडेमीसम्बन्धी सहयोग आदान प्रदान । यो समझदारीमा भारतका तर्फबाट संगीत नाटक एकेडेमीकी सेक्रेटरी हेलेन आचार्य र नेपालका तर्फबाट राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

यसमा नेपाल र भारत दुबै तर्फबाट कला क्षेत्रका अनुभव आदान-प्रदान गर्ने, साथै नृत्यकार र विज्ञहरुको सहयोग आदान-प्रदान गरिने बताइएको छ ।

चौथो समझदारीः फूलबारी मार्ग

नेपाल र भारतवीच सम्पन्न चौथो समझदारी पारवहन मार्गसँग सम्बन्धित छ । यो समझदारीमा भारतीय वाणिज्य सचिव रिता टियोटिया नेपालका तर्फबाट वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् ।

यो समझदारी पत्रमा काँकडभिट्टा-बंगलाबन्ध हुँदै नेपाल र बंगलादेशवीचको ट्रान्जिट सुचारु गर्ने भनिएको छ । नेपालको सवारी आवागमनलाई भारतले यो मार्गमा सहजता प्रदान गर्ने सहमतिपत्रमा उल्लेख छ । यसैको अर्को बुँदामा भारतको विशाखापटनम बन्दरगाहमा भारतले नेपाललाई पारवहनको सुविधा उपलब्ध गराउने बताइएको छ ।

पाँचौं समझदारीः बिशाखापटनमबाट रेल्वे ढुवानी

त्यसैगरी पाँचौं सहमतिमा विशाखापटनमबाट नेपालसम्म रेल्वे ढुवानीको सुविधाबारे चर्चा गरिएको छ । बंगलादेशसँगको पारवहनमा भारतको सिंहावादबाट सुविधा प्रदान गरिने बताइएको छ ।

यो सहमतिपत्रमा भारतका तर्फबाट रेल्वे बोर्डका एएस उपाध्यायले हस्ताक्षर गरेका छन् । ।

छैठौं समझदारीः बिजुली खरिद

नेपाल-भारतवीच सम्पन्न छैठौं समझदारी ४०० केभीको मुजफ्फरपुर-ढल्केबर ट्रान्समिसन लाइनसम्बन्धी समझदारी हो । यसलाई दुई देशका प्रधानमन्त्रीले उदघाटन गरेका छन् । र, यसमा ८० मेगावाट बिजलुीको स्वीच अन गरिएको छ ।

अब थप २ सय मेगावाट बिजुली आगामी अक्टोबरमा भारतले दिनेछ भने २०१७ डिसेम्बरसम्म कुल ६०० मेगावाट बिजुली भारतले नेपाललाई बेच्नेछ ।

ट्रान्समिटर लाइनको विस्तारका लागि साढे १३ मिलियन डलर बराबरको लोन अफ क्रेडिट भारतले कार्यान्वयन गर्ने सहमति दुई देशवीच भएको छ ।

र, सातौं समझदारीः प्रवुद्ध समूह गठन

र, नेपाल र भारतवीच भएको सातौं समझदारी हो प्रवुद्ध समूहको स्थापना । यसबारे २०१४ जुलाइमै काठमाडौंमा संयुक्त बैठक बसेको थियो र त्यहीँबाट ८ सदस्यीय समूह बनाउने निर्णय भएको थियो ।

यो प्रवुद्ध समूहमा नेपालका तर्फबाट डा. राजन भट्टराई, पूर्वविदेशमन्त्री भेषबहादुर थापा, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय र पूर्वकानूनमन्त्री नीलाम्बर आचार्य रहेका छन् ।

भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, सिक्किम विश्वविद्यालयका पूर्वभीसी एवं हाल जाप पार्टीका नेता महेन्द्र लामा, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद र प्रोफेसर बीसी उप्रेती रहेका छन् ।