एनपीएल : प्लेअफमा पुग्याे लुम्बिनी

1.3K

एनपीएल : प्लेअफमा पुग्याे लुम्बिनी

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए । ३४ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । अर्धशतक बनाउन चार रनले चुकेका सर्टले सुरुदेखि विकेट गुमाइरहेको टोलीको इनिङ्स सम्हालेका थिए ।
लुम्बिनीका लागि दिलीप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रन बनाए । सर्ट र डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । कर्णालीका मार्क वाटले १२ रन खर्चेर चार विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो । उसका सोमपाल कामीले २८, हुसेन टललले २४ र गुल्सन झाले १३ रन बनाए । पवन सर्राफले १२ रन जोडे ।
१५ रनमै चार विकेट गुमाएर संकटमा परेको कर्णालीलाई पवन र सोमपालले ४० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । तर, नियमित विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो ।
लुम्बिनीका अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक-एक विकेट हात पारे ।
जितसँगै ६ खेलबाट नौ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
लगातार चौथो हार बेहोरेको कर्णाली भने ६ खेलबाट चार अंकसहित सातौं स्थानमा छ । सुरुवाती दुई खेल जितेर राम्रो सुरुवात गरेको कर्णाली त्यसपछिका चारै खेलमा पराजित भएको छ । यससँगै कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ ।