चार दिनसम्म मनाइने आस्था र निष्ठाको पर्व छठ आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि गर्दैछन् ।
पर्वको दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वको तयारीसँगै मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । घरघरमा छठका भक्तिगान गुञ्जिन थालेका छन् भने नदी, पोखरी तथा जलाशयमा छठघाट निर्माण र सरसफाइको काम तीव्र पारिएको छ । छठघाट सजाउने, घर तथा सार्वजनिक स्थलमा बत्ती राख्ने र पूजाका सामग्री जुटाउने काममा स्थानीयवासी व्यस्त छन् । विशेषगरी युवाहरू छठघाट निर्माण र व्यवस्थापनमा सक्रिय छन् ।
सामाजिक सद्भाव र समानताको प्रतीकका रूपमा समेत लिइने छठमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै ठाउँमा भेला भएर सूर्यको आराधना गर्ने परम्परा छ । आपसी मनमुटाव बिर्सेर सामूहिक रूपमा मनाइने यस पर्वले सामाजिक एकता र सद्भावको सन्देशसमेत दिने विश्वास गरिन्छ ।