एमाले जनप्रदर्शनको तयारी पुरा

505

एमाले जनप्रदर्शनको तयारी पुरा

UMLLनेकपा एमालेले आगामी फागुन १४ गते शुक्रवार भैरहवामा आयोजना गर्ने भब्य जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ । “जनताको संविधान जनताकै माझमा ” नामक अभियानका क्रममा एमालेले लुम्विनी अञ्चल स्तरीय जनप्रदर्शन गर्न लागेको हो । जनप्रदर्शनको तयारीका सन्दर्भमा एमाले प्रचार विभाग रुपन्देहीले बुधवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरिले जनप्रदर्शनको तयारी करिव पुरा भएको जानकारी दिए । उनले भारत भ्रमणपछि प्रधानमन्त्री केपी ओलीले सम्वोधन गर्नेे पहिलो सार्वजनिक कार्यक्रम भएकाले यो जनप्रदर्शनलाई सिंगो मुलुकले महत्वका साथ हेरेको बताए ।
नयां संविधानका विषयमा विभिन्न क्षेत्रीय राजनैतिक दलहरुले सिर्जना गरेको भ्रम चिर्न एमालेको यो जनप्रदर्शनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा उनले गरे । संविधानको कार्यान्वयन हुन नदिन अनेक वाहना बनाएर आन्दोलन गर्ने,आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने समूहहरुका स्वार्थ जनताका माझ सार्वजनिक गरेर भ्रम चिर्ने योजना अनुसार अञ्चल स्तरीय जनप्रदर्शन गर्न लागिएको एमालेले वतााएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराइले जनप्रदर्शनका लागि लुम्विनी अञ्चलका ६ जिल्लाबाट डेढ लाख जनता उतार्ने तयारी भइरहेको बताए ।त्यसका लागि १२ सय सवारी साधन र ५ हजार स्वयंसेवक परिचालन गर्ने र दुइ करोड भन्दा बढी खर्च लाग्ने अनुमान एमालेले गरेको छ । प्रत्येक जिल्लाका टोलटोलमा जनप्रदर्शनको तयारी स्वरुप कार्यकर्ताहरु खटिएको उनले बताए । जनप्रदर्शनपछि भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुने आमसभालाई एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,वरिष्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष बामदेव गौतम,महासचिव इश्वर पोख्रेल,उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट,प्रदीप ज्ञवाली,पृथ्वी सुब्बा गुरुड्.ग केन्द्रिय नेताहरु छविलाल विश्वकर्मा ,वैजनाथ चौधरी,सत्यनारायण मण्डल,सोमप्रसाद पाण्डे,नेत्र पन्थी,आदित्यनारायण कसौधन लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य भट्टराइले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठ,प्रचार विभाग प्रमुख तेजेन्द्र केसी लगायतले बोलेका थिए । कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले स्वागत र जिल्ला अध्यक्ष अमृत गिरिले सञ्चालन गरेका थिए ।