संस्थापनबाट सभापति पौडेल , सशांक महामन्त्री उठ्ने

290

संस्थापनबाट सभापति पौडेल , सशांक महामन्त्री उठ्ने

ramchandra

काठमाडौं, फागुन/नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाट सभापति र महामन्त्रीको उम्मेदवारको लगभग टुंगो भएको छ। बिहिबार साँझ नेपाली कांग्रेसका नेता रामशरण महतको महाराजगंजस्थित निवासमा संस्थापन पक्षका एकदर्जन बढी नेताको भेलाले रामचन्द्र पौडेललाई सभापतिमा र सशांक कोइरालालाई महामन्त्रीमा उठाउने तय गरेको छ।महत निवासमा पौडेल, सशांक र शेखर कोइराला, प्रकाशमान सिंह, आमोदप्रसाद उपाध्याय, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, नारायण खड्का, दिलेन्द्र बडू, आनन्दप्रसाद ढुंगाना, लगायतको उपस्थिति थियो। संस्थापन पक्षका महत्वपूर्ण नेताहरुको भेलाले भोलि बस्ने पार्टीको केन्द्रीय समितिको बैठक पछि आफ्नो पक्षको उम्मेद्वारी घोषणा गर्ने तय गरेका छन्। उम्मेद्वारीको लगभग टुंगो गरेपछि महत निवासमा महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको थियो। संस्थापन पक्षकै नेता सिटौलाले पनि सभापतिमा उठ्ने बताउँदै आएका छन्। सिटौला महत निवास पुगेपछि नेताहरुले उनीसँग संयुक्त र पौडेलले एक्लै पनि कुरा गरेका थिए। उनीहरूले संस्थापन पक्षको सभापतिमा एउटा मात्रै उम्मेदवार बनाउनु पर्ने भन्दै सिटौलालाई उमेद्वारी नदिन अनुरोध गरेका थिए।पौडेलले सिटौलालाई बाँकि पदाधिकारी पदमा मिलाएर लैजान सकिने भन्दै उनलाई कुन पदमा इच्छा छ सुझाउन अनुरोध गरेका थिए। सिटौलाले भने आफू सभापतिमा लड्ने पक्षमा रहेको भन्दै साथीहरूसँग सल्लाह गरेर निर्णय लिने बताए।सिटौलालाई मनाउन शुक्रबार बिहान पनि संस्थापन पक्षका केहि नेताहरू उनको निवास गएका थिए। तर उनीसँग के छलफल भयो अझै थाहा छैन। सिटौला र गगन थापा मिलेर संस्थापन बाटै दोस्रो जोडी उठ्ने नउठ्ने पनि आज साँझसम्ममा टुंगो लाग्ने सम्भावना छ। सिटौला सभापतिमा उठ्ने भए आफू मिलेर महामन्त्रीमा उठ्न तयार रहेको थापाले उनलाई बताएका छन्।रामचन्द्र पौडेल र सशांकको जोडी उठ्ने टुंगोसँगै देउवा पक्षबाट पनि शेरबहादुर देउवा र अर्जुननरसिंह केसी सभापति र महामन्त्रीमा उठ्ने लगभग पक्का भएको छ। देउवाले सशांकलाई मिलाएर आफू सभापति र उनलाई महामन्त्री उठाउने गरेको प्रयास अब सकिएको छ।सुशील कोइरालाको निधन पछि मात्रै देउवाले सशांकलाई चार पटक भेटि मिलेर चुनाव लड्न र पार्टी भित्र रहेको ६०-४० को मानसिक विभाजन मेटाएर अघि बढ्न अनुरोध गरेका थिए।