प्यानल घोषणामा दुवै पक्षलाई सकस –संस्थापनमा सर्वसम्मत प्यानल बन्ने सम्भावना कम –देउवा पक्ष संस्थापनको निर्णय पर्खंदै

1.3K

प्यानल घोषणामा दुवै पक्षलाई सकस –संस्थापनमा सर्वसम्मत प्यानल बन्ने सम्भावना कम –देउवा पक्ष संस्थापनको निर्णय पर्खंदै

01032016075920NC-1000x0काठमाडौं . कांग्रेसमा संस्थापन र देउवा पक्ष दुवै समूहमा धेरै दाबेदार भएका कारण सभापतिसहितको प्यानल उम्मेदवारी घोषणा गर्न सकस परेको छ ।झन्डै एक सातादेखिको सहमतिको प्रयास सफल हुन नसकेपछि संस्थापनबाट सर्वसम्मत प्यानल बन्न सक्ने सम्भावना कम हुँदै गएको छ । संस्थापनबाट नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौलाका साथै प्रकाशमान सिंह र सुजाता कोइरालाले पनि सभापतिमा दाबी छाडेका छैनन् । आकांक्षीको व्यवस्थापन गर्न नसक्दा संस्थापन पक्षमा सर्वसम्मत उम्मेदवार खडा गर्न समस्या परेको हो ।

वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले आफ्नो प्यानल घोषणा गर्न संस्थापनको निर्णय पर्खेको छ । संस्थापनबाट असन्तुष्ट आकांक्षीलाई आफ्नो समूहमा आकर्षित गर्ने प्रयासमा देउवा पक्ष लागेकाले प्यानल घोषणामा ढिलाइ भएको हो । देउवा पक्षले कोइराला परिवारका सदस्यलाई आफूतिर तान्ने प्रयास गरिरहेको छ, उसलाई आफ्नै पक्षमा रहेका दाबेदारलाई समेत मिलाउन हम्मे परिरहेको छ ।

महामन्त्री सिटौला कार्यवाहक सभापति पौडेलले बोलाएको बैठकमा सहभागी हुन छाडेका छन् । सोमबार प्रमुख सचेतक चीनकाजी श्रेष्ठको निवासमा बसेको संस्थापन पक्षको बैठकमा सिटौला र सुजाता दुवै आएनन् । ‘मेरो सभापतिमै उम्मेदवारी हुन्छ,’ सिटौलाले भने, ‘त्यसका लागि तयारी भइरहेको छ ।’ स्रोतका अनुसार सिटौलाले सोमबार देशभर आफूले पाउन सक्ने मतको जोडघटाउ गरेका थिए । आफूले सोचेभन्दा बढी मत पाउने आश्वासन पाएपछि उनी हौसिएका छन् ।

पौडेलले उनलाई फकाउन संसदीय दलको नेता वा उपसभापतिमध्ये एक रोज्न आग्रह गरेको स्रोतको दाबी छ । बैठकमा अनुपस्थित हुन थालेपछि पौडेलले टेलिफोनबाटै कुराकानी गरेका थिए । उनले सोमबार केन्द्रीय सदस्य दिलबहादुर घर्तीमार्फत पनि सन्देश पठाएका थिए । ‘यी पद कसैले दिएर र लिएर प्राप्त हुने होइन, दलको नेता चुनावबाट निर्वाचित हुनुपर्छ र उपसभापति बन्न केन्द्रीय कार्यसमिति निर्वाचित सदस्य हुनुपर्छ,’ सिटौलाले भने । उनले कुनै पनि पदको लोभमा आफ्नो उम्मेदवारी नरोकिने बताए । सिटौलाले आफ्नो प्यानलको महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी या अफताप आलममध्ये एकलाई बनाउने सोच बनाएका छन् ।

सभापतिका आकांक्षी सिंहले भने प्रभावकारी र चुनाव जित्न सक्ने टिम बनाए आफू सहमतिका लागि तयार रहेको सन्देश सोमबार पनि दोहोर्‍याए । उनले केन्द्रीय कार्यसमितिको सदस्यका लागि आफू निकट नेताहरूलाई ल्याउने प्रयासमा जुटेका छन् । ‘मैले भनेजस्तो प्रभावकारी र चुनाव जित्न सक्ने समूह बनाउन सकेमा सहमतिका लागि तयार छु,’ उनले  भने, ‘तर टिम बन्न सकिरहेको छैन ।’

उनले मंगलबार दिउँसोसम्म संस्थापन पक्षको निर्णय आउन सक्ने बताए । ‘मिलाउने प्रयत्न भइरहेको छ,’ सिंहले थपे, ‘संस्थापन पक्षका हामी सबैको सम्पूर्ण ध्यान मिलाउनेतिर नै केन्द्रित छ ।’ सिटौलासंँग मंगलबार अन्तिम प्रयास गरिने भएको छ । संस्थापन पक्षभित्रै सिटौला नआए पनि उम्मेदवारी घोषणा गर्न दबाब परेको छ । संस्थापन पक्षका नेता मीनेन्द्र रिजालले भने मिलाउन अन्तिम समयसम्म प्रयास गर्नुपर्ने बताउँदै घोषणामा हतार गर्न नहुने बताए । ‘सहमतिका लागि अन्तिम मिनेटसम्म प्रयास गर्छौं,’ उनले भने, ‘मलाई आशा छ, सहमति भएर नै संस्थापन पक्षबाट सर्वसम्मत टिम घोषणा हुन्छ ।’

पौडेलले कोइराला परिवारबाट शशांकलाई महामन्त्रीमा अघि बढाउने निर्णय गरेपछि सुजाता सभापतिकै लागि दाबी गर्न थालेकी हुन् । कोइराला परिवारका तीनै सदस्यले महामन्त्रीको आकांक्षा राख्दै आएका थिए । शेखरले दुई वर्षअघिदेखि नै पौडेललाई साथ दिँदै आएका थिए । सुशील कोइरालाको निधन नहुँदै शेखर कोइराला पौडेललाई सभापति बनाउने ‘लबिङ’मा लागेका थिए । तर पौडेलले आफूलाई भन्दा शशांकलाई च्यापेको भन्दै शेखर असन्तुष्ट भएका हुन् । देउवा पक्षले असन्तुष्ट शेखर र सुजातालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । तर, उनीहरूले संस्थापन पक्ष छाड्ने सम्भावना भने कम छ । ‘शेखरजीले संस्थापन छाडेर शशांककै विरुद्ध चुनाव लड्ने सम्भावना छैन,’ कोइराला निकट स्रोतले बतायो ।
देउवा पक्षमा पनि केहीले महामन्त्रीमा अर्जुननरसिंह केसीको विकल्प खोज्नुपर्ने भन्दै दबाब दिन थालेका छन् । संस्थापन पक्षकै प्रभावशाली नेताहरूलाई फकाएर केसीको विकल्प दिनुपर्ने उनीहरूको जोड छ । कतिपयले नेता विमलेन्द्र निधिलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन् ।

तर, देउवाले केसीलाई महामन्त्रीको वचन दिइसकेकाले परिवर्तन हुने सम्भावना कम छ । केसी स्वंय देउवा क्यापको चुनावी अभियानमा लागिसकेका छन् । पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरेका नेता खुमबहादुर खडकाले उपसभापतिमा आफू र कोषाध्यक्षमा पुष्पा भुसाललाई अघि सार्नुपर्ने दबाब दिएपछि देउवाले निर्णय लिन सकेका छैनन् । कोषाध्यक्षमा देउवाको रोजाइ भने चित्रलेखा यादवप्रति छ । मधेसी समुदाय र महिलाको प्रतिनिधित्वको हिसाबले चित्रलेखालाई उम्मेदवार बनाउनुपर्ने तर्क देउवा पक्षीय सदस्यहरूले पनि राख्दै आएका छन् । तर, खडकाले भुसाललाई बनाउनुपर्ने दबाब निरन्तर दिन थालेपछि कोषाध्यक्ष कसलाई बनाउने भन्नेमा देउवा पक्ष अलमलिएको छ ।

देउवा पक्षीय नेता प्रकाशशरण महतले संस्थापन पक्षकै वरिष्ठ नेताहरूलाई ठाउँ दिनुपर्ने अवस्था आउन सक्ने भएकाले औपचारिक घोषणा गर्न ढिलाइ भइरहेको बताए । ‘पार्टीमा अधिकतम एकताको सन्देश दिन गरी टिम घोषणा भए राम्रो हुन्थ्यो भन्ने हाम्रो उद्देश्य हो,’ नेता महतले भने, ‘एकताको सन्देश दिने प्रतिनिधि केही आउनु भयो भने त्यही हिसाबले घोषणा गर्नुपर्ने भएकाले रोकिएको हो ।’ उनले टिमको अन्तिम टुंगो लगाउन वरिष्ठ नेता देउवालाई नै जिम्मा दिइएको बताए ।