काठमाडौं,वरिष्ठ नेता देउवाले बिहीबार पार्टी मुख्यालय सानेपाको सभाहलमा दर्जनौं नेता तथा सयौं कार्यकर्ताका सामु आफू नेतृत्वको प्यानल घोषणा गरेका हुन्। देउवाको प्यानलमा महामन्त्रीको उम्मेद्वार रहेका केसी १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याउनेको सूचीमा २ नम्बरमा थिए भने यादव अघिल्लो महाधिवेशनमा देउवाकै प्यानलबाट कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्।कांग्रेसमा भावी नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ। यसअघि संस्थापन पक्षबाट कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले अलग अलग प्यानल घोषणा गरेका छन्। सिटौलाको प्यानलमा महामन्त्रीको उम्मेद्वार रहेका गगन थापा र देउवा प्यानलमा रहेका केसी नातामा आफ्नै ज्वाईं ससुरा हुन्।पार्टीका पुराना नेता एवं संस्थापन पक्षमा पनि हार्डलाइनर मानिने कुलबहादुर गुरुङ देउवाको प्रस्तावक बसेका छन् भने केन्द्रीय सदस्य खुमबादुर खड्काले उम्मेद्वारीको समर्थन गरेका छन्।आफू नेतृत्वको प्यानल घोषणाका क्रममा वरिष्ठ नेता देउवाले आफूमा निर्णय गर्ने क्षमता, आँट र सबैलाई मिलाएर अगाडि बढ्न सक्ने खुबी रहेको भन्दै सभापतिमा एक पटक मौका दिन महाधिवेशन प्रतिनिधिहरुसामु आग्रह गरे। उनले आफू सभापतिमा निर्वाचित भए पार्टीभित्र रहेका सबै गुट उपगुट अन्त्य गर्ने र सबै नेता तथा कार्यकर्तालाई बराबर सम्मान दिने बताए।उनले पार्टीका कुनै पनि नेताले पार्टी छोडेर जानुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाए।महामन्त्रीका उम्मेद्वार अर्जुननरसिंह केसीले संस्थापन पक्षले विधि र प्रक्रिया मिचेर पदाधिकारी बैठकका नाममा जथाभावी निर्णय गरेर केन्द्रीय कार्यसमितिलाई रमिते बनाएकाले अब आइन्दा त्यस्तो अलग प्रवृत्ति दोहोरिन नदिन देउवालाई सभापतिको रुपमा अगाडि सारेको बताए। उनले कुलबहादुर गुरुङदेखि खुमबहादुर खड्कासम्मका नेताहरुको साथका कारण आफ्नो प्यानलको जीत सुनिश्चित रहेको दाबी गरे।देउवालाई सभापतिको रुपमा प्रस्ताव गर्ने क्रममा नेता कुलबहादुर गुरुङले कांग्रेसमा अब संस्थापन र प्रजातान्त्रिक पक्ष कोही पनि नरहेको बताए।कार्यक्रममा यसअघि संस्थापन पक्षमा रहेका मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी लगायतका नेताहरु पनि सहभागी थिए। वरिष्ठ नेता देउवाको प्यानल घोषणापछि काँग्रेसका नेता तथा कार्यकर्ता देउवाको पक्षमा नाराबाजी लगाउँदै पार्टी कार्यालयबाट बाहिरिएका थिए ।