देउवालाई बहुमत ! देउवा समूहको१५ , पौडेल समूहका ९, निर्वाचित समिति ६४ सदस्यीयमा देउवाको बहमुत पुग्ने सम्भावना

342

देउवालाई बहुमत ! देउवा समूहको१५ , पौडेल समूहका ९, निर्वाचित समिति ६४ सदस्यीयमा  देउवाको बहमुत पुग्ने सम्भावना

lll

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको आरक्षण कोटामा सभापति शेरबहादुर देउवा समूहको बहुमत आएको छ । यससँगै केन्द्रीय कार्यसमितिमा नै देउवा समूहको बहमुत हुने सम्भावना बनेको छ ।शनिबार अबेरसम्ममा आरक्षणतर्फ सबै परिणाम आएको छ । २२ आरक्षण केन्द्रीय सदस्यमा देउवा प्यानलबाट १४ देउवा प्यानलका उम्मेदवार विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहबाट ७ जना छन् । जनजातिमा एक केन्द्रीय सदस्य दुबै प्यानलबाहेकबाट आएका छन् ।अब खुलातर्फ २५ र प्रदेश अन्तरगत १४ केन्द्रीय सदस्यको मत परिणाम आउन बाँकी छ । सार्वजनिक भएको मत परिणाम र भइरहेको मत गणनाको रुझान हेर्दा निर्वाचित केन्द्रीय समितिमा देउवा प्यानलको बहुमत पुग्ने सम्भावना देखिएको छ ।

दलित कोटामा देउवा चार, पौडेल एक

दलितको पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा विजयी भएका छन् । परियारले १४८१ मत पाएका छन् । दोस्रो स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित मानबहादुर विश्वकर्माले १४०२ र तेस्रो स्थानमा रहेका मीनले १३१३ मत पाएका छन् ।परियार रामचन्द्र पौडेल प्यानलका हुन भने मानबहादुर र मीन दुबै देउवा प्यानलका हुन् । लामो समय संस्थापन समूहमा रहेका मानबहादुर यो पटक देउवा क्याम्पमा गएका थिए ।महिलातर्फ भने लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । लक्ष्मी परियारले १५१९ र सुजाता परियारले १५०२ मत पाएकी छन् । दुबै देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन् ।

जनजाति पुरुषमा देउवा शून्य

जनजाति पुरुषतर्फ चीनकाजी श्रेष्ठ, कल्याण गुरुङ र बहादुर सिंह तामाङ विजयी भएका छन् । श्रेष्ठ र गुरुङ पौडेल प्यानलका हुन् भने तामाङ दुबै प्यानलमा थिएनन् । जनजाति पुरुषतर्फ देउवा प्यानलका कुनै पनि उम्मेदवार विजयी भएनन् ।

जनजाति महिलातर्फ देउवा प्यानलका सीता गुरुङ र पौडेल प्यानलका रत्ना शेरचन केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

मधेसीमा पनि देउवा हावी

यस्तै मधेसी पुरुषतर्फ अजय चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादव विजयी भएका छन् । अजय चौरसिया, महेन्द्र यादव देउवा प्यानलका हुन् भने रामकृष्ण यादव पौडेल प्यानलका हुन् ।

महिलातर्फ पौडेल प्यानलकी किरण यादव र देउवा प्यानलकी पार्वती डीसी चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

महिला आरक्षणमा देउवा चार, पौडेल दुई

महिलाको ६ सिटमा देउवा प्यानलबट चार र पौडेल प्यानलबाट दुई उम्मेदवार विजयी भएकी छन् । देउवा समूहका डा. डिला संग्रौला, पुष्पा भुसाल, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत निर्वाचित भएका छन् भने पौडेल पक्षबाट कमला पन्त र परिता प्रसाईं विजयी भएकी छन् ।

निर्वाचित केन्द्रीय समितिमा बहुमत ?

मुस्लिम कोटामा देउवा प्यालनका फरमुल्लाह मन्सुर यसअघि नै निर्वाचित भइसकेका छन् । यसरी अहिलेसम्म आएको परिणाममा देउवा प्यानलका सभापतिसहित १५ केन्द्रीय सदस्य छन् भने पौडेल समूहका ९ जना छन् । पदाधिकारीमा महामन्त्री र कोषाध्यक्ष संस्थापन समूहका छन् ।अब खुला २५ र सात प्रदेशका १४ केन्द्रीय सदस्यको मत परिणाम आउन बाँकी छ । खुलातर्फको जारी मत गणनामा चर्चित अनुहार नै अगाडि छन् । प्यानलका आधारमा हेर्दा टप २५ मा देउवा प्यानलका १४ उम्मेदवार छन् भने पौडेल समूहका ११ जना छन् ।प्रदेशतर्फ प्रत्येकको शीर्ष दुईमा पौडेल समूहका ९ र देउवा प्यानलका ५ उम्मेदरवार छन् । तर, प्रदेशतर्फको मत गणना भर्खरै सुरु भएको र मतअन्तर पनि धेरै नभएकाले यसमा केहीपरिर्वतन हुन सक्छ ।यसरी हेर्दा कांग्रेसको ६४ सदस्यीय निर्वाचित समितिमा सभापति शेबरहादुर देउवाको बहमुत पुग्ने सम्भावना देखिएको छ ।