कता जादैछन प्रवासका कांग्रेसीजनहरु??

कता जादैछन प्रवासका कांग्रेसीजनहरु??

निराजन श्रेष्ठ / स्विजरल्याण्ड

 

हामी नेपाली भएरै त होइन होला ।  या अशिक्षित र आर्थिक रुपमा पिछडिएको गरिब देशमा जन्मेरपनि नहुनुपर्ने हो । तर जति शिक्षित भएता पनि हाम्रो पारा उस्तै छ । बिदेशमा देखेर ज्ञान लिएपनि हामीले ब्यवहारमा उतार्न सकेका छैनौं । शिक्षित, बिकशित देशमा आएर, यहाँको स्थिति देखेर, बुझेर नै पो के भो र ? जहां भएता पनि हामी नेपालीले कहिल्यै हाम्रो दिमागलाइ सकारात्मक ढंगमा परिवर्तन गर्न नसकेकै हो त?  सधै स्वार्थ अनि एक अर्का विच खुट्टा तान्ने प्रवृतिलाइ निरन्तरता दिने प्रव्रित्ति कायम छ । कसैको उपलब्धीमा डाहा गर्ने बानि कहिले छोड्न सकेनौं । यो बिदेशमा बस्ने हामी नेपालीकोलागिपनि बिडम्बना हो ।

बिकशित देशमा बसेर,पढेर,देखेर,भोगेर जे जसो गरे पनि आफु परिवर्तन हुन नसक्ने कुरा हाम्रा दुषित गैर आवासीय राजनीतिज्ञ नेपालीहरुमा प्रस्टसित देखिन्छ ।  विदेशमा खोलिएका विभिन्न भात्री संगठन,पार्टी, दल, समाजहरु देश र जनता तथा दुखमा परेका प्रबासी नेपालीको हितका लागि नभई व्यक्तिगत स्वार्थ पुरा गर्न खोलिएको देखिन्छ । पद, कुर्सि, फूलमाला,खादा र भाषण गर्न पाए सर्वस्व बिर्सने ति प्रवासी राजनीतिज्ञहरुलाइ बोल्न भने कसैले उछिन्न सक्दैन । करोडका गफले विश्व हाँक्न खोज्छन् । एकै मिनेटमा देश बदल्ने भयानक योजना सुनाउँछन् ।

सन्दर्भ लिउँ, गत महिना काठमान्डौमा भएको नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाअधिवेशनको । महाधिवेशनका लागि भनेर बिभिन्न देशबाट कांग्रेसका प्रतिनिधिहरु छानिए ।  कतिपय देशमा त प्रतिनिधि छनोटमा गाइजात्रा नै देखियो ।  कतिपय देशबाट आफु बैधानिक प्रतिनिधि भएको भन्दै दुइ दुइ टिम महाधिबेशनमा भाग लिन गए । यसरि विदेशबाट जाने यी सबै हुल देख्दा केहि राम्रा र स्वच्छ व्यक्तिहरु अगाडी आउँछन् भन्ने भान भएको थियो केहिलाई ।  तर स्वर्गीय नेता गणेशमानले भने जस्तै भेडा नेपालीहरु फेरीपनि  केहि आशाले धैर्य गरिरहेका थिए । अब बिदेशको सबै देखेर जानेकाले अशल नेता छान्लान् । युवाहरुलाई अगादि ल्याउलान भन्ने आशा गरेका थिए ।    अधिवेशनमा केहि आँट दिमाग, द्रिष्टिकोण र देशका लागि केहि गर्छु, मर्न तयार भएका युवा भनेर चिनिने केहि राजनीतिज्ञहरु एक तर्फ देखिए ।  अर्को तर्फ बारम्बार मन्त्रिमंडलमा पुगेका । द्रिष्टिकोण फाटिएका । च्यातिएर धुजा धुजा भएका । राष्ट्रिय चिन्तन केहिँ कतै नभएका । देश बनाउने हिम्मत, साहस र लगाम नभएका । भ्रस्टचारले डामेका । जनताका बिचमा डङडङी गन्हाएका ।  आफ्नो हातमा डाडु र पन्यु भएका बेलामा पनि देशलाइ बिकाश तिर नभई देशको राजश्व हिनामिना पार्दै स्वार्थमा मर्ने । विकासका बाटा थुन्ने ।  बोल्नसम्म स्पष्ठले नजान्ने बुढाहरुले उमेद्वारी दिएका थिए ।   जो जसले उमेद्वारी दिएता पनि गैर आवासीय नेपालीहरुले बिकशित देशमा देखेका, बुझेका कारण नेपाललाई अहिलेको समय परिस्थितिमा हाम्रो देशलाई आवस्यक परेका नेताहरु छान्न अवाज उठाउने छन् भन्ने बिदेशमा बसेका नेपालीहरुलाई  आशा थियो ।

तर विदेशबाट जाने कांग्रेसी प्रतिनिधिहरु बिचनै विभाजनमा बाढिएको खुलष्त देखियो । जो जसले नेपालको परिस्थितिलाइ बुझेका थिए उनीहरुले युवा नेताहरुलाई साथ दिन चाहे । तर धेरैले काम नलाग्ने बुढाखाडा नेताहरुलाईनै साथ दिए । लाजै नमानी तिनैको बुढो पछ्यौरी समातेर जंघार तरे । अलिकतिपनि संकोच नमानी राष्ट्रिय द्रिष्टिकोण नभएकाको पछि लागे । बुढा खाडा नेताहरुलाई साथ् दिने धेरै भए ।  बुढाखाडालाई नै जिताए ।   आगामी दिनहरुमा विदेशमा भएका कांग्रेशका भात्रि शाखाहरुले यिनै देशका लागि काम नलाग्ने नेताहरु भ्रमण गर्न आउँदा रकम उठाई सहयोग गर्ने छन् । चन्दा उठाइ उठाई भोज गर्ने छन् । तिनसित झुण्डिएको फोटो खिचेर आफ्नो उचाई बढेको भान पार्ने छन् । नेताका मसलादार गफ सुनेर तिनले आफूलाई धन्य ठान्ने छन् । व्यक्तिगत स्वार्थ पुरा गर्ने लालच छोड्ने छैनन् । तिनको सोर्सफोर्स लगाएर नेपालमा भएका आफन्तलाई केहि गरिदेला कि भनेर र्‍याल काढ्ने पारालाई सधै झैँ निरन्तरता दिने छन । यसमा कुनै शंका छैन  ।

दुखको कुरो , जो नेताले नेपालको लागि केहि गर्न सक्दैनन् । अझ भनौ बर्षौ देखि डाडु पन्यु आफ्नै हातमा लिएर बसे । तिनले देशको दाल भात आफ्नै स्वार्थको थाल र कचौरामा मात्रै पस्किए । देश चुसेर घिउ निकाली निकाली आफ्नै कचौरामा मात्रै खन्याए । गरिव नेपालीका दुख भजाएर भुँडी भरे । देशको बिपन्नता देखाएर मागेको भिखले महल ठड्याए ।  भएका कल कारखाना कि त घुँडा टेकाए । कि बेचेर धराशायी पारे । कामको नाममा सिन्को समेत नभाँचेका तिनै नेताहरुलाई जिताउन कम्मार कसेर सात समुद्र पारीबाट महाधिबेशमा खटिएर लाग्ने ति प्रवासी कांग्रेशहरुलाइ धिक्कार छ । त्यतिलेपनि नपुगेर बुढा स्यालहरुले जितेको उपलक्ष्यमा युरोपका कांग्रेस पार्टीको शाखाका बडे बडे नेता, असली कार्यकर्ताले रात्रि भोज यिनीहरुकै नाउँमा गरेको देख्दा यिनको मानसिकता कति दरिद्र र चिन्तन कति झोले रहेछ भन्ने बुझ्न गाह्रो पर्दैन ।   भनाइको मतलव, जो देशका लागि मर्न तयार छ । देशलाई बिकाश गर्छु भनेर प्रयासरत छ । युवाहरुलाई समेट्न खोज्छ । देशको आत्मसम्मानको कुरो अघि सार्छ । देश बनाउने द्रिष्टिकोण लिई अगाडी बढ्ने प्रयास गर्छ । ति नेताहरु छानिनु पर्ने हो ।  जुनै पार्टीका भएता पनि तिनलाई सके साथ दिनुपर्ने हो । नसके हौँसला दिनुपर्ने हो ।  तर जो नेता देशकालागि बिषालु छन् तिनीहरुलाई हौँसला दिंदै उनीहरुलाई जिताउन युवाहरुनै अघि सर्छन् भने तिनले किन युवाहरुको पक्षमा बोल्ने ? किन युवाहरुले अवशर पाएनन् भन्ने ? बुढाहरुले प्रभुत्व जमाए, युवाहरुलाई स्थान दिएनन् भनेर तिनको कराउने नैतिकता कहाँ रहला ? युवाहरुलाई पाखा लगाई ओछ्यान पर्ने बेला पुगेका बुढाहरुको जमातलाई पार्टी चलाउने जिम्मा दिएर फर्किएका प्रवाशी युवा कांग्रेसीहरुको हामी जस्ता बुझक्कि युवाहरुले सधै बिरोध गर्नुपर्छ । यिनलाई चिन्नुपर्छ, यि कुन खालको राजनिति गर्छन् भनेर ।

देशका लागि भलो हुने काममा साथ् दिनुपर्ने होइन र देश कसरि बन्छ भनेर देखेकाहरुले ? राम्रोको समर्थन र नराम्रोको बिरोध गर्नुपर्ने होइन र राष्ट्रिय चिन्तन भएकाले ? चाहे  त्यो जुनै पार्टीको कर्यकर्ता, नेता होस् ।  तर विदेशमा रहेका नेपाली राजनीतिक पार्टीका भात्री संगठनहरुले जति देखेर बुझे पनि ठिक उल्टो गरिरहेका छन् । देशकालागि केहि गर्छु भन्नेलाइ कालो झण्डा देखाएर बिषालु, भ्रष्टाचारि,देशद्रोहीहरुलाई फूलमाला चढाउनेहरुपनि देखिए ।  बिदेशमा खुबै जाने बुझेका, विकासका अनेक चमत्कार भोगेका, देखेका युवाहरुनै नेपाल गएर त्यहि जमातमा मिसिन्छन् । थपडी बजाउँछन् । कुकर्म गरेकाकै जयगान गरेर, तिनैलाई स्थापित गराएर फर्किन्छन् । यहि पारा, सोच, चिन्तन र स्वार्थले विदेशमा रहेका नेपाली राजनीतिक पार्टीका भात्रि संगठनहरु अगाडी बढ्दै जाने हो भने  नेपालका नेताहरुले भन्दा यिनीहरुले देशलाई अझ छिटो खोक्रो बनाउने छन् । बिदेशको धन, प्रभाव र भ्रम छरेर अझ हानी पुर्‍याउने छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •