निकासीको एकतर्फि नियर्णप्रति देवदहका दलिय प्रतिनिधि असन्तुष्ट

983

निकासीको एकतर्फि नियर्णप्रति देवदहका दलिय प्रतिनिधि असन्तुष्ट

Myagdi-Tipper-In-Bridge

बुटवल, चैत । रुपन्देहीको देवदह क्षेत्रबाट भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय गौतमबुद्ध विमान स्थलका लागि मात्र भनेर नदिजन्य पदार्थ निकासि गर्न खोजिएको प्रति देवदहका स्थानीय राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । स्थानीय स्तरमा निर्माणाधिन विकास निर्माणका काम नदिजन्य पदार्थको अभावमा अधुरा रहेका वेला नदिजन्य पदार्थको निकासि खोल्नु सुखद् विषय भएतापनि विमान स्थलका लागिमात्र खोलिनु न्यायोचित नभएको राजनीतिक दलहरुको ठहर छ । केन्द्र तथा स्थानीय स्तरबाट बनेका र निर्माणधीन अवस्थामा रहेका योजनाहरु नदिजन्य पदार्थको अभावमा प्रभावित बनेको भन्दै उनीहरुले एकतर्फि रुपमा निर्णय गरेर खोलिएमा त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । स्थानीय आधा दर्जनबढी राजनीतिक दलहरुका प्रतिनिधीहरुले संयुक्त रुपमा विज्ञप्ती निकालेर देवदह क्षेत्रबाट खोला जन्य पदार्थको निकासी विमान स्थललाई मात्र नभएर स्थानीय स्तरमा पनि खुल्ला गर्नु पर्ने माग गरेका हुन् । हालैमात्र देवदह क्षेत्रमा पर्ने घोडाहा खोला, कजराहर खोला, चरङ्गे खोला, भलुही खोला लगायतका स्थानबाट विमानस्थल निर्माणका लागि भनेर नदीजन्य पदार्थको निकासिका लागि जिल्ला अनुगमन समितिले निर्णय गरेको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्रनम्बर एकका क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, एकिृत माओवादीका जिल्ला सदस्य मोतिलाल ढकाल, नेकपा क्रान्तिकारी माओवादीका राज्य समिति सदस्य नमराज पुरी, राप्रपा नेपालका देवदह सभापति ऋषिराम रेग्मी, राष्ट्रिय जनमोर्चाका हरि केसि, संघिय जनमुक्ति पार्टि देवदहका डम्बरबहादुर थापा लगायतले संयुक्त रुपमा विज्ञप्ती निकालेर नदिजन्य पदार्थको निकासि स्थानीय स्तरमाका लागि पनि खोल्नु पर्ने माग गरेका हुन् । नदीजन्य पदार्थको अभावमा स्थानीय स्तरका विकास निर्माणका योजनाहरु प्रभावित भई रहेको अवस्थामा स्थानीय नागरिकको चाहाना विपरीत विमान स्थलका लागि मात्र नदिजन्य पदार्थ निकासि खोलिए त्यसपछि हुने घटनाको जवाफदेखि जिल्ला अनुगमन समिति रुपन्देही आफै हुनु पर्ने दलहरुले चेतावनी समेत दिएका छन् । एकतर्फि निर्णय गरेर निकासि गरेमा त्यसको अवरोध गर्न पनि पछि नपर्ने उनीहरुको चेतावनी छ ।
स्थानीय स्तरमा नदिजन्य पदार्थ निकासिका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला विकास समिति, जिल्ला वन कार्यालय र देवदह नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाइएको कांग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी दिनुभयो ।