भैरहवा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशको समृद्धि र शान्तिका लागि मधेसी र पहाडी सामुदाय मिलेर बस्नु पर्ने बताएका छन् । देशलाई समृद्धितर्फ लैजान शान्तिका आवश्यक रहेको र शान्तिका लागि मधेसी र पहाडी सामुदायबीच सदभाव कायम रहनु पर्ने बताए ।
‘सद्भावका लागि क्रिकेट’ अभियान सुरु गर्दै पूर्व राष्ट्रपति यादवले मधेसी पहाडी भाइ भाइ भएको बताए । आफुले जनताको नासो -संविधान) जनतालाई सुम्पिएको भन्दै उनले संविधान आएपछि पनि समाधान नभएका मधेसको समस्या समाधान गर्न दलहरुलाई आग्रह गरे ।
मधेसीले आफ्नो अधिकार माग्नु गलत नभएको उनले बताए । तर, लोकतान्त्रिक विधीबाट अधिकार माग्नु पर्ने भन्दै उनले भने, ‘नाकाबन्दी गरेर सीमानामा ढुंगामुढा गर्नु गलत हो ।’
मधेस आन्दोलन र विभिन्न राजनीतिक गतिविधिका कारण सामाजिक सद्भाव कमजोर भएको भन्दै ४ वटा संस्थाले संयुक्त रुपमा सन् २०१६ लाई सदभाव वर्षको रुपमा मनाउन अभियान सुरु गरेका छन् ।
अभियान अन्तर्गत शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट भैरहवासम्म साइकल र्याली निकालिउको छ । भैरहवाको सिद्धार्थ रंगशालामा यू-१९ र राष्ट्रिय खेलाडीबीच मैत्रीपुर्ण क्रिकेट खेल भएको थियो ।
मधेसको जिल्लामा क्रिकेट खेलको बढी रुचाइएको कारण अभियान अन्तर्गत सदभाव कायम राख्नका लागि मधेसका ७ वटा मुख्य शहरहरु मैत्रीपूर्ण टी-ट्वान्टी सद्भाव क्रिकेट खेलाइनेछ ।
अभियानका रुपन्देही संयोजक प्रशान्त विक्रम मल्लका अनुसार वीरगञ्ज, जनकपुर, राजविराज, विराटनगर, टिकापुर, नेपालगञ्जमा मैत्रीपुर्ण टी-ट्वान्टी क्रिकेट खेलको आयोजना हुनेछ ।