‘तीनवटा कारणले महामन्त्रीमा हारें’-अर्जुननरसिंह केसी

464

‘तीनवटा कारणले महामन्त्रीमा हारें’-अर्जुननरसिंह केसी

Arjun-Narsingh-kc

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धर्मको बाहना बनाएर नयाँ संविधानलाई उधिन्न खोजिरहेका कांग्रेसका नेताहरुविरुद्ध डटेर संघर्ष गर्ने बताएका छन् ।

पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार बनेका केसीले आफू तीनवटा कारणले पराजित भएको बताए । आफ्नो विरुद्धमा व्यापक क्रस भोटिङ भएको उनले बताए ।

महाधिवेशनको सन्दर्भ र कांग्रेसभित्र उठेको धर्मनिरपेक्षताको विरोधबारे नेता केसीसँग को संक्षिप्त कुराकानीः

 

१३ औं महाधिवेशनमा तपाईहरुको समूहबाट देउवाले सभापति जित्नु भो । तर, तपाईले जित्न सक्नुभएन । के भएछ ?

पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियामा जीत हार स्वभाविक हो । पार्टी नेतृत्वको निर्वाचनमा कोही पनि लुजर (पराजित) हुँदैन, विनर (विजयी) र रनर (सहगामी) मात्र हुन्छ । त्यसैले यो चुनावी परिणामलाई सामान्य र सहज ढंगले लिनुपर्छ । मैले त्यही रुपमा लिएको छु । तर, यसको वस्तुगत परिस्थिति र दूरगामी प्रभावबारे विश्लेषण गर्दैछु ।

मैले हेर्दा म विजयी हुन नसक्नुका तीनवटा कारकतत्व पाएको छु । पहिलो, म जुन टिमबाट चुनाव लडेँ, त्यहीँभित्रबाट ब्यापक क्रस भोटिङ भयो । दोस्रो, वीपी कोइरालाको लिगेसीले पनि काम गर्‍यो । तेस्रो, पारिवारिक अवस्थालाई संयोजन गर्न नसक्दा त्यसले मतदातामा मनोवैज्ञानिक असर गर्‍यो । त्यो मनोवैज्ञानिक उथल-पुथल (साइकोलोजिकल अप्हिभल) थियो ।

तर, गगनजी चुनाव लड्ने, वीपीको छोरा प्रतिस्पर्धी हुने त चुनाव अगाडि नै थाहा थियो नि हैन ?

बीपीको छोरा प्रतिस्पर्धी भएर मात्र म हारेको होइन । टिमबाट म्यासिभ रुपमा क्रस भोटिङ भयो ।

यो थाहा थिएन ?

यो हदसम्म गरिएला भन्ने मैले सोचेको थिईँन । म टिमलाई कसरी सशक्त बनाउने भनेर टिम बाहिरका साथीहरुसँग समेट्न लागेँ । टिम त टिम हो, त्यहाँ विश्वासले न राजनीति चल्छ । त्यो विश्वासमा म रहेँ र यतिसम्म होला भनेर मैले नकारात्मक विश्लेषण नै गरिनँ ।

उसोभए अन्तरघात भो ?

म क्रस भोटिङ भन्छु । त्यसलाई तपाई जुन शब्दले भन्नुहुन्छ, आफ्नो भाषा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईकै शब्दमा क्रस भोटिङ, मतदाताहरुको व्यक्तिगत थियो कि कुनै समूह उपसमूहको योजनामा ?

मसँग भित्रभित्रै असहमति राख्ने, इष्र्या गर्नेहरु थिए । त्यसमा समूहगत र वैचारिक स्वार्थहरु जोडिएका होलान् । सबै कुरा म अहिले भनिरहन पनि चाहन्नँ । यो हाम्रो पार्टीभित्रको आन्तरिक विषय भएकाले समय क्रममा खुल्दै जाला । किनभने म चुनाव हारेँ, भोट नपुगेर हारेँ । यसका विभिन्न कारक तत्वलाई सार्वजनिक गर्न बढी आवश्यक ठान्दिँन ।

क्रस भोटिङ गर्नेको समूह-उपसमूहको नाम होला ?

को मान्छे भन्ने थाहा त मलाई छ, तर, अहिले नै भन्न चाहन्नँ । किनभने म पहिलेदेखि नै निरन्तर रुपमा पार्टीमा भागवण्डा, विभाजन र गुट उपगुटको अन्त्य हुनुपर्छ भनेर दृढताका साथ आफ्ना दृष्टिकोण र विचार राख्दै आएको हुँ । लाखौँ कार्यकर्ताहरूको अस्तित्व र करियरका लागि पनि मैले आˆना मान्यता र अडान राखेको हूँ । म फेरि त्यो विभाजन र तिक्तता नयाँ रुपमा सिर्जना होस् भन्न चाहन्न ।

नाम नभने पनि प्रवृत्ति त भन्न मिल्छ होला नि ?

प्रवृत्ति पनि म नभनौं । किनभने कांग्रेसभित्र सबै कांग्रेसका आदर्श, सिद्धान्त र विचारसँग सहमत भएका काम गर्ने साथीहरु नै हुनुहुन्छ । उहाँहरूमध्ये कसैको डाहा र इष्र्या होला, कसैको कुनै निहित स्वार्थ र व्यक्तिगत कमजोरी होलान् । कसैले अर्जुननरसिंह केसीको नेतृत्व स्थापित भयो भने हामी पछि पर्छौं भन्ने होला । तर, म यसलाई केलाएर समय बर्वाद गर्न चाहन्नँ ।

किनभने, कांग्रेसका सामू चुनौतीहरु छन् । पहिला कांग्रेसभित्र समग्र एकता, त्यसपछि सम्पूर्ण लोकतन्त्रवादीहरुको एकता र राष्ट्रिय एकता प्रवर्द्धन गर्दै नयाँ संविधानमा विद्यमान कमी कमजोरी हटाएर पार्टीले संविधान कार्यान्वयनको नेतृत्व गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छु ।

तपाईँले संविधान कार्यान्वयन गर्ने भन्नु भो । संविधानलाई त कांग्रेसबाटै चुनौती आउने देखियो । धर्म निरपेक्षताविरुद्ध प्रस्ताव ल्याउँछु भन्न थाले ।

मलाई कसैले सोध्यो भने म हिन्दु हुँ । मलाई यसमा कुनै अप्ठ्यारो छैन । तर, अहिले संविधानको मौलिकतालाई नै उधिनेर हिन्दु राज्य, संघीयतामा ‘पुनर्विचार’  वा राजसंस्था पुनस्र्थापनाका कुरा निकालिएको छ, यो गलत दृष्टिकोण हो ।

कांग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधानका मौलिकताहरुलाई नै उधिनेर संविधान असफल बनाउने र देशलाई अस्थिरता-अराजकतामा लैजाने कुरा गर्न सक्दैन र हुँदैन ।

तपाईहरुको केन्द्रीय समितिमा जितेर आएका कतिपय नेतालाई धर्मनिरपेक्षता मन परेको देखिएन । केन्द्रीय कार्यसमितिमा प्रस्ताव नै ल्याउँछु भन्न थालेका छन्…..

तपाईँले धेरै साथी भनेको कति हो, त्यो मलाई थाहा छ । त्यो जनस्तरमै गएर बहस गर्नु परे म तयार छु ।

जहाँसम्म केन्द्रीय कार्यसमितिमा प्रस्ताव ल्याउने कुरा छ, उहाँहरुको त्यो अधिकार सुरक्षित छ । तर, संस्थागत निर्णयलाई उधिनेर यो संविधानले दिएको सन्तुलनलाई खल्बल्याउने, थिलथिलो बनाउने खेलमा कांग्रेस फस्नु हुँदैन ।

तर, संविधान निर्माणका क्रममा तपाई आफैंले धर्म निरपेक्षतामा संशोधन हाल्नुभएको थियो हैन ?

धार्मिक स्वतन्त्रता नै पर्याप्त हुन्छ भनेर संविधान निर्माण गर्नुभन्दा अगाडि मेरो विचार राखेँ । हाम्रो पार्टीको झण्डाका चार तारामध्ये एउटा तारा ‘धार्मिक स्वतन्त्रता’ को प्रतीक हो । तर, अहिलेको परिवेशमा धर्मनिरपेक्षता हामीले स्वीकार गरिसकेको विषय हो । त्यसलाई उधिन्ने र फेरि प्रश्न ठड्याएर संविधानको सर्वमान्यतालाई विवादको कठघरामा पुर्‍याएको म हेर्न चाहन्न । कुनै पनि काँग्रेसजनको त्यो काम होइन ।

उसोभए कांग्रेस मुख्य चुनौती यही हो ?

कांग्रेसले अहिले समग्र रुपमा जुन संविधान उपलब्धिका रुपमा हासिल गरेको छ, त्यसलाई समेट्दै संशोधनको प्रक्रिया अघि बढाउन सकिन्छ ।

संशोधन गर्नुपर्छ भनेपछि त धर्म निरपेक्षताको वा हिन्दु राष्ट्रका लागि पनि होला नि त ?

यो संसदको मुख्य काम संघीय संरचनालाई पूर्णता दिने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र त्यसमा देखिएका कमी र कमजोरीलाई सुधार गर्दै जाने हो । संविधानको एउटा चक्र पूरा भएपछि संशोधनतिर प्रवेश गर्न सकिन्छ । संघीयता,  लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गरेर एउटा प्रादेशिक संरचनासहित चुनावपछि अर्को संसदमा उठाउनेमध्ये एउटा मै पनि हुन सक्छु ।

तर, अहिले निर्मित संविधानका मौलिक विशेषतामा कहीँ कतैबाट चुनौती आउँछ भने म त्यसको खिलाफ हुन्छु । ६५ वर्ष लामो संघर्षपछि प्राप्त भएको संविधानलाई छिन्नभिन्न बनाउने कुरा न राष्ट्रको हितमा छ, न लोकतन्त्रको हितमा छ, न त कांग्रेसको हितमा  नै छ ।

फेरि हामी मात्रै यो देशको अन्तिम सत्य होइन, २९ दल संसदमा छन् । के यहाँ हामीले अराजकता र अस्थिरता निम्त्याउन खोजेको ? अराजकताबाट कसैलाई प्रवेश गराउन खोजेको ? यो मलाई मान्य छैन ।

संघीयताको सीमांकनमा पनि असन्तुष्टि कायमै छ नि ?

मधेसका असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ भन्ने म निरन्तर लागेको मान्छे हुँ । ५/१० दिन रोकेर भएपनि मधेसलाई सम्बोधन गरेर मात्र संविधान जारी गरौं भनेर लिखित र मौखिक रुपमा भनेको थिएँ । त्यसैले मधेसको चाहना, त्यहाँका जनताका इच्छा-आकांक्षा र मधेसले खोजेको सम्मान र पहिचानलाई सम्बोधन गर्न हामी सहज मानसिकताका साथ तयार हुनुपर्छ ।

तर, मधेसलाई सम्बोधन नगर्नेमा कांग्रेसका नवनिर्वाचित सभापति पनि हो भन्ने आरोप छ नि ?

यो कसैलाई आक्षेप लगाउने भन्दा पनि फेरि नयाँ ढंगबाट कहाँ, कसरी सम्बोधन गर्न सकिन्छ भनेर कुराकानी गर्नुपर्छ । मधेसका धेरै कुरा त सम्बोधन भएकै छन् । संविधानमा पहिलो संशोधन कांग्रेसकै नेतृत्वमा भयो, यसले धेरै अन्योल र अस्पष्टतालाई हटाएको छ । अब केही बाँकी छ भने छलफल र सहमतिबाट टुङ्गो लगाउनुपर्छ ।

तर, कांग्रेसको ध्यान मधेसलाई सम्बोधन गर्ने भन्दा पनि सरकारमा गएको हो ?

महाधिवेशनको काम सकिएपछि संसदीय दलको निर्वाचनमा हाम्रो ध्यान केन्दि्रत छ । त्यसपछि केन्द्रीय कार्यसमितिलाई पदाधिकारी र सदस्य मनोनित गरेर पूर्णता दिएपछि सबैभन्दा ठूलो दलको हैसियतले सरकार गठन गर्ने पहिलो जिम्मेवारी र दायित्व पनि काँग्रेसकै हो ।

सरकारको अभयदानमा चर्किरहेको महंगी, कालोबजारी, ग्यास र इन्धनको अभावलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । आवश्यक पर्‍यो भने सरकार परिर्वतनबारे पनि सोच्छौं

कहिलेसम्म बन्ला कांग्रेस नेतृत्वमा सरकार ?

अहिले सरकार बनाउने कुरा मात्र हाम्रो प्राथमिकतामा छैन । तर, सरकारले गरेका गतिविधि र अहिलेसम्मका विकृतिबारे हामी गम्भीर छौं । र, यसलाई गम्भीरताका साथ उठाउने र आवश्यक परे जनतामा पनि जान्छौं ।

सरकारको अभयदानमा चर्किरहेको महंगी, कालोबजारी, ग्यास र इन्धनको अभावलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । यसलाई सुधार गर्न सरकारलाई दबाव दिन्छौं । र, आवश्यक पर्‍यो भने सरकार परिर्वतनबारे पनि सोच्छौं ।

अहिले चाँहि बेला भएको छैन ?

बेला भएको छैन । र, हतार गर्नु पनि हुन्न । सरकारलाई सुध्रिने उचित मौका हामी दिइरहेका छौँ ।अनलाइनखबरबाट