पौडेल र सिटौलापक्षका डेढ दर्जन बढी सांसदको समर्थनले देउवा सुविधाजनक बहुमत तर्फ

337

पौडेल र सिटौलापक्षका डेढ दर्जन बढी सांसदको समर्थनले देउवा सुविधाजनक बहुमत तर्फ

deuba

काठमाडौं, चैत २३ /नेपाली कांग्रेसको पुरानो संस्थापन पक्षमा रहेका डेढ दर्जन बढी सांसदले संसदीय दलको नेताको चयन हुनु एक दिन अगाडि खेमा परिवर्तन गर्दै दलको नेतामा सभापति शेरबहादुर देउवालाई समर्थन जनाएका छन्।कुनै बेला पार्टी नेता गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्मका अनन्य सहयोगीका नेता पद्मनारायण चौधरीदेखि सुरेन्द्र यादव, मोहन बराल, तप्त विष्टसम्मले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गरेका छन्।मंगलबार बिहान ११:१० बजे सभापति देउवाले दलको नेताको उम्मेद्‌वारी दर्ता गर्दा माथि उल्लेखित सभासद पनि उपस्थित भएर समर्थन जनाएका थिए।नेता चौधरीले बिहान साढे ९ बजे देउवाको कार्यकक्षमा गएर उनलाई आफ्नो समर्थन रहेको बताएका थिए। ‘विगतमा तपाईँ र म सँगै थियौं। बिचमा फरक फरक समूहमा भएपनि अहिले तपाईँ पार्टीको नेता हुनु भयो र म कार्यकर्ता जस्तै रहे,’ उनले भने, ‘अब तपाईँलाई संसदीय दलको नेतामा समर्थन गर्न म तयार भएको छु। आशा छ सबैलाई मिलाएर पार्टी र देशलाई सहि नेतृत्व दिनुहुनेछ।’चौधरीले देउवालाई समर्थन जनाएपछि विगतमा फरक समूहमा रहेका सांसदले पनि देउवा र उनी निकट नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतलगायत नेतासँग भेट गर्दै आफ्नो समर्थन देउवालाई रहने बचन दिएका थिए।उम्मेदवारी दर्ता गर्नूपूर्व सभापति देउवा दलको बैठक कक्षमा झण्डै ४० मिनेटसम्म अन्य नेतासँग बसेका थिए। जहाँ चौधरीका अलवा पुरानो संस्थापन पक्षका सांसद कौशर शाह, तप्त विष्ट, मोहन बराल, बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, रामचन्द्र यादव, रामचन्द्र चौधरी, अब्दुल हमित सिद्धिकी, सरवत आरा खानम हलुवाइनी, राजु खनाल सुरेन्द्रप्रसाद यादव, आशा बिक उपस्थित थिए।त्यस अतिरिक्त उक्त बैठक कक्षमा पार्टीको १३ औं महाधिवेशनमा अलग्गै समूहको नेतृत्व गर्दै सभापति पदमा उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौलाको समर्थनमा रहेका सांसदहरु तारामान गुरुङ, उषा गुरुङ, सुधीर शिवाकोटीको पनि उपस्थिति थियो।सिटौलाको पक्षबाट महामन्त्री पदका उम्मेदवार गगन थापा, सदस्य भिमसेनदास प्रधान, गणेश विमली र पुष्कर आचार्य उक्त भेलामा देखिएनन्।पूर्वसभापति सुशील कोइरालालाई संसदीय दलको नेतामा मत दिएका अर्जुननरसिंह केसी, अर्जुन जोशी, केशवकुमार बुढाथोकी, चन्द्र भण्डारी, अमरेशकुमार सिंह, रामअयोध्याप्रसाद यादव, फरमुल्लाह मन्सुर, जगदिश्वरनरसिंह केसी, मधु शाही, मिठु मल्ल, सूर्यमान गुरुङ, अमृत अर्याल, मानबहादुर विश्वकर्माले पार्टीको १३ महाधिवेशनमा देउवालाई सघाएका थिए।‍त्यस अलवा २६ जनामा मनोनित सांसदहरु उमेश श्रेष्ठ, शिवबहादुर बस्नेत, अनिल रुंगाटाका साथै स्वतन्त्र सांसद अतहर कमालले पनि देउवालाई सघाएका थिए।दोस्रो संविधानसभा निर्वाचन लगत्तै २०७० माघ १२ गते भएको संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवा पूर्वसभापति कोइरालासँग १६ मतकोले पराजित भएका थिए। त्यतिबेला खसेको कूल १ सय ९४ मतमध्ये कोइरालाले १ सय ५ मत पाएका थिए भने देउवाले ८९ मत पाएका थिए।तर कोइरालाको निधन पश्चात पुरानो संस्थापन पक्षभित्र देखिएको फुट र विभाजन पश्चात पार्टी महाधिवेशन अगाडि र पछाडि गरी झण्डै ३० जना भन्दा बढी सांसदहरु खुलेर देउवालाई समर्थन गर्न तयार भएपछि दलको नेतामा उनी सुविधाजनक बहुमतको स्थितिमा पुगेको देखिन्छ।हाल कांग्रेस संसदीय दलमा २ सय ७ सदस्य छन्। दलको नेतामा विजयी हुन कम्तिमा १ सय ४ मत आवश्यक पर्ने भएपनि देउवा पक्षका कतिपय नेताहरू आफ्नो पक्षमा १ सय ३० भन्दा माथि मत आउने दाबी गर्न थालेका छन्।