कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

526

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

12919651_10154078440259889_116851917424115650_n

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार भएको निर्वाचनमा देउवाले १३९ र उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे । निर्वाचनमा २०६ मत खसेको थियो ।

कांग्रेसका २०७ जना सांसदमध्ये नरहरि आचार्यबाहेक सबैले मतदान गरेका हुन् । आचार्य भने अस्वस्थताका कारण मतदानमा सहभागी हुन सकेनन् । पार्टी परित्यागको घोषणा गरेका पर्साबाट नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी पनि निर्वाचनमा सहभागी भए ।

तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको दलको नेताका लागि निर्वाचन गरिएको हो । निर्वाचनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो । यसअघि, तत्कालीन सभापति कोइरालासँगको प्रतिस्पर्धामा देउवा पराजित भएका थिए ।

संसदीय दलको नेताका लागि सभापति देउवाको प्रस्तावकमा फरमुल्ला मन्सुर र समर्थक पद्मनारायण चौधरी रहेका थिए भने पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा महामन्त्री सशांक कोइराला रहेका थिए ।