सडकको दुरावस्था सुधार गर्न सुरक्षित यात्रा नेपालको आग्रह

1.3K

सडकको दुरावस्था सुधार गर्न सुरक्षित यात्रा नेपालको आग्रह

logoबुटवल । शहरका मुख्य सडकहरुमा खाल्डाखुल्डी हुँदा पनि सम्बन्धित निकायको नजर नजाने प्रबृत्तिको अन्त्य गर्न सुरक्षित यात्रा नेपालले आग्रह गरेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवलको मुख्य क्षेत्रमा समेत सम्बन्धित डिभिजन सडक कार्यालयका कर्मचारीको ध्यान नजानु दुःखदायी भएको भन्दै तत्काल यस्ता कमिकमजोरी हटाउन र बिग्रेका भत्केका सडकको सुधार गर्न पनि आग्रह गरिएको छ ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासेले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने बुटवलको राजमार्ग चौराहा, मिलनचोक, बसपार्क क्षेत्र, अस्पताल लाईन, तिनाउ पुल, सिद्धार्थ राजमार्गमा पर्ने ट्राफिकचोक, गोलपार्क लगायतका क्षेत्रमा भएका सडकका दुरावस्थालाई तत्काल मर्मत सम्भार गर्न आग्रह गर्नु भएको हो ।
बुटवलको मिलनचोकमा सडकको दुरावस्थाकै कारण सवारी दुर्घटनामा परि धेरैले ज्यान गुमाईसकेका छन् भने धेरै अंगभंग भएका छन् । सुरक्षित यात्रा नेपालले मुख्यत यसै सडकलाई लक्षित गरेर यो विज्ञप्ती जारी गरेको हो । बिज्ञप्तीमा भनिएको छ–‘जनताले सडकमा यात्रा गर्दा सुरक्षाको महसुस गर्ने वातावरण बन्नुपर्छ, अहिले सडकमा हिंड्ने कसैले पनि सुरक्षाको महसुस गर्न सकेका छैनन् ।’
दुर्घटना हुँने बित्तिकै चालकलाई मात्रै दोष लगाउने प्रबृत्ति रहेको उल्लेख गर्दै बिज्ञप्तीमा सडकमा हुने सवारी दुर्घटना चालकको लापरवाहीले मात्रै नभई सडकको दुरावस्था, छाडा चौपाय, सडक प्यापारमा रहने ठेलाहरु, अव्यबस्थित रुपमा मुख्य सडकमै हुने सवारी पार्किङ्लगायतका कारणले दुर्घटना हुने भएकाले यी सबै कुराको समुचित व्यबस्थापनकालागि सडक डिभिजन, ट्राफिक प्रहरी, नगरपालिकालगायत सम्बन्धि सबैलाई आग्रह गरिएको छ । त्यस्तै दुर्घटना न्यूनिकरणकालागि बजार क्षेत्रमा सवारीको गति सिमित गर्न सवारी चालकहरुलाई आग्रह गरिएको छ भने सम्बन्धित निकायले बजार क्षेत्रमा निर्धारण गरेको सिमित गतिलाई निगरानी गर्न पनि माग गरिएको छ । ट्राफिक प्रहरी र बुटवल नगरपालिकाको सहमतिमा बुटवल बजारमा २० किलोमिटर प्रतिघण्टाको गति निर्धारण गरिएको छ । गति निर्धारण गर्नमात्रै सक्ने हो भने अहिले हुने दुर्घटना ५० प्रतिसत स्वत कमि हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुर्घटना न्यूनिकरणकालागि सबै एक जुट हुनुको विकल्प नरहेको उल्लेख गर्दै बिज्ञप्तीमा भनिएको छ–‘यो अभियानमा सबै एक हुन आह्वान गर्दछौं ।’