बुटवल । यहि चैतको २२ गतेसम्म ३४.२ डिग्री रहेको यस क्षेत्रको तापक्रम २३ गते एक्कासी बढेर ३९.२ डिग्री पुगेको थियो । यो पनि त्यस यताका दिनमा निरन्तर बृद्धि भएर पछिल्लो दिन शनिबार ४१ पुगेको छ । मौषमको तापक्रममा एकाएक बृद्धि भएपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । मौषममा भएको तापक्रम बृद्धि संगै तातो हावा चलेपछि जनजीवनलाई अझ बढी प्रभावित बनाएको हो ।
गर्मिका कारण दैनिक मजदुरी गरेर जिबिका चलाउने मजदुरहरु यसको प्रत्यक्ष मारमा परेका छन् । मौषममा आएको तापमान बृद्धि र तातो हावाको बहावका कारण मानिसलाई अत्यावश्यक कामकालागि घर बाहिर निस्किन पनि समस्या भएको छ भने यस क्षेत्रका बजारहरुमा पनि दिउँसोको समयमा चहल–पहल कम हुँदै गएको व्यापारीहरु बताउँछन् ।
एकातिर बढ्दो गर्मि र अर्कातिर चर्को लोडसेडिङ्ले जनजिविकालाई प्रभावित पारेको हो । गर्मिकै कारण अस्पतालहरुमा बिरामीको संख्या क्रमिक रुपमा बृद्धि हुँदै गएको छ । अस्पतालमा आउने बिरामीहरुमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्तालगायतका रोगहरुको संक्रमण देखिन थालेको चिकित्सकहरु बताउँछन् ।
गर्मि मौषममा झाडापखला, आउँ, हैजा, टाईफाईडजस्ता सरुवा रोगको संक्रमण बढी हुन्छ । मानिसहरु गर्मिका कारण चिसो प्यय पर्दा पिउने गर्दछन् । जस्तोपायो त्यस्तै ठाउँको खाना खाने, जे पायो त्यही खाने प्रबृत्तिले यस्ता समस्याहरु आउने स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्मि मौषममा ताजा र सफा खानेकुरा मात्रै खान चिकित्सकहरुको सल्लाह छ । त्यस्तै बाहिर हिंड्दा नआत्तिन, झोलिलो खानेकुरा खान र प्रसस्त मात्रामा पानी पिउन उनीहरुको सल्लाह छ ।
जल तथा मौषम बिज्ञान पूर्वानुमान महाशाखा काठमाण्डौका अनुसार अघिल्लो वर्षको चैतको २७ गते यस क्षेत्रको अधिकतम तापक्रम ३५ डिग्री थियो । यसले अंघिल्लो वर्षको तुलनामा यो वर्ष मौषमको तापक्रम अझै धेरै बढ्ने अनुमान गर्न सकिन्छ । अंघिल्लो वर्ष जेठको पहिलो हप्तामा देखिएको तापक्रम यो वर्ष चैत महिनाको पछिल्लो हप्तामै देखिएको छ ।