काठमाडौं/पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानसेनापति रुक्मांगद कटवालको बर्खास्तगी प्रकरणमा आफूले चालेको कदम राष्ट्रिय हितमा भएको प्रष्ट्याउँदै यदि त्यतिबेला आफू नभएको भए सेनाको संगठन ध्वस्त हुने बताएका छन्। यादवले त्यतिबेलाको समय निकै जटिल रहेको स्मरण गराउँदै राजनीतिक दलका कारण त्यस्तो भएको आरोप लगाए।नेपालका राजनीतिक दलको कारण मुलुकका प्रायः सबैक्षेत्र ध्वस्त हुँदै गएको बताउँदै यादवले कुनै पनि क्षेत्र राजनीतिकरणबाट टाढा रहन नसकेको बताए। ‘राष्ट्रप्रमुख भएका नाताले मैले धेरैठाउँ काेअर्डिनेट गरेँ, प्रधानसेनापति प्रकरणमा मैले कदम नचालेको भए सेनाको संगठन ध्वस्त हुन्थ्यो,’ यादवले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी त राजनीतिक पार्टीहरूले ध्वस्त पारिसकेका छन्, मैले जोखिमपूर्वक सेनामा राजनीति हुनबाट बचाएँ।’देशमा दुई सेना (नेपाली सेना र माओवादी सेना) भएको त्यो स्थितिमा युद्धबाट आएका कार्यकारी प्रधानमन्त्री, उनकै पार्टीका रक्षामन्त्रीले सेनामा हात हालेको स्थितिमा आफूले राष्ट्रिय हितलाई मध्यनजर गरेर संविधानअनुसारै कदम चालेको बताए। ‘त्यो कदम चालेपछि एउटा सिंगै पार्टी म विरुद्ध खनियो तर मैले संविधानअनुसारै गरेको थिएँ,’ उनले भने।पूर्वराष्ट्रपति यादव आइतबार पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङको पुस्तक ‘जनताको छोरो’ विमोचनमा होटल र्याडिसनमा बोल्दै थिए। यादवले हालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिक पार्टीबाट सचेत हुनसमेत सुझाव दिए। ‘म यही मञ्चबाट उहाँलाई भन्छु, राष्ट्रिय हितमा लागेर, विचार गरेर मात्र कार्य गर्नुहोस्, राजनीतिक दलबाट सचेत हुनुस् उनीहरू राष्ट्रिय हितमा छैनन्।’पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशिष्ठ अतिथि रहेको र नेता, पूर्व मन्त्री, पूर्व प्रधान सेनापति, भूतपूर्व रथीहरू, निर्वाचन आयोग, अख्तियारलगायत क्षेत्रबाट उपस्थित अधिकारीहरूका सामु डा. यादवले राजनीतिक दलप्रति एक घन्टाजति असन्तुष्टि व्यक्त गरे।राजनीतिक पार्टी राष्ट्रिय हितमा नभएर सत्ताको स्वार्थमा लागेका कारण मुलुकका धेरै संचरना बिग्रिँदै गएको आरोप उनले लगाए। मुलुक सञ्चालन गर्ने संरचनामा चरम राजनीतिकरण हुने गरेको भन्दै यादवले असन्तुष्टि व्यक्त गरे। सर्वोच्च अदालतमा भागबन्डामा न्यायाधीश नियुक्ति हुनु, राजनीतिक दलको सिफारिस चल्नु, प्राकृतिक स्रोतसाधन ध्वस्त हुनु तर त्यसमा राजनीतिक पार्टी नबोल्नु, शिक्षण संस्था, प्रहरी सबैतिर राजनीतिले सखाप पारेको आरोप उनले लगाए।बारम्बार आफूले राष्ट्रलाई जोखिमबाट बचाउन भूमिका खेलेको उनले बताए। ‘मुलुकमा यतिठूलो परिवर्तन आइसकेको छ, अब संविधानसभाबाट छिटो संविधान बनाऔं भनेर बारम्बार डाकेँ, छलफल गरेँ, तर पार्टीहरू सत्ताको स्वार्थबाट कहिल्यै माथि उठ्न सकेनन्,’ यादवले भने, ‘हाउस बिदा गर्नु हुँदैन भनेर बाबुरामजीलाई धेरै भने तर भएन, उहाँले हाउस बिदा गरिदिनुभो।’संविधानसभा बिघठन भएपछि आफूलाई ठूलो नैतिक संकट निम्तिएको पनि यादवले स्मरण गरे। ‘म नैतिक संकटमा थिएँ, संविधानसभा त बिघठन भयो, राजनीतिक दललाई छलफल गर्न बोलाएँ, के गरौं भनेँ, मेरो इच्छा कुनै भूतपूर्व सेनापति वा नागरिक समाजको स्वतन्त्र व्यक्तिलाई मन्त्रिपरिषद्मा ल्याऔं भन्ने थियो तर राजनीतिक पार्टीहरू मान्दै मानेनन्,’ उनले भने, ‘त्यसपछि खिलराज रेग्मीलाई ल्याउन बाध्य भएँ।’आफ्नो कार्यकालमा सबैभन्दा बढी न्यायालयलाई न्याय गर्न नसकेको अनुभव हुनेगरेको यादवले सुनाए। ‘प्रधानन्यायाधीशलाई लिएर जानु ठीक थिएन, मैले त्यसो नगरौं भनेको थिएँ, पोलिटिकल पार्टीले मानेनन्,’ यादवले भने।एकातिर तराई आन्दोलन चर्केको अर्कोतिर संविधान जारी गर्नुपर्ने दोहोरो बाध्यताबीच आफूले संविधान ढोगेर जारी गरेको यादवले बताए। मधेसमा असन्तुष्टि रहिरहेको बेला संविधान जारी गर्दा आफूलाई निकै पीडा रहेको पनि यादवले बताए।‘एकातिर पीडा र अर्कोतिर समर्पणको बाटो थियो, मैले लोकतन्त्रको बाटो समातेर संविधान जारी गरें,’ यादवले भने। अहिले तराई आन्दोलन फेरि चर्किने कुरा उठिरहँदा तथा आन्दोलन स्थगन भइरहेका बेला मधेसवादी दललाई वार्तामा आह्वान गर्न नसक्नु राजनीतिक कमजोरी हुने यादवले बताए।संविधान जारी भएको तर त्यसका धेरै कानुन निर्माण गर्नुपर्ने, संघीयतामा जानुपर्ने, प्रदेशको चुनाव गर्नुपर्नेलगायत धेरै कार्यभार बाँकी रहेकाले उनले असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने बताए। ‘संविधान परिमार्जन गरेर असन्तुष्टिको सम्बोधन गर्नुपर्छ,’ यादवले भने, ‘काठमाडौंलाई मात्र हेरेर राष्ट्रियता मजबुत हुँदैन, सबै नेपालीलाई एकठाउँमा ल्याउन सक्नुपर्छ। मधेस पनि यही देशभित्र छ।’पूर्वप्रधानमन्त्री नेपालले लोकतन्त्रको बाटोमा नेपाली सेनाले गरेको काम सराहनीय रहेको बताए। उनले नेपाली सेना लोकतन्त्रको बाधकको रुपमा नआएको भन्दै प्रशंसा गरे।