‘राराको पर्यटन प्रवद्र्धनमा सरकारी उपेक्षा’

806

‘राराको पर्यटन प्रवद्र्धनमा सरकारी उपेक्षा’

tourism news - Copyबुटवल, बैसाख । कर्णालीको मुगुस्थित एशियाकै ठूलो रारा तालको पर्यटन प्रवद्र्धन गर्न सरकारले उपेक्षा गरेकाले छिमेकी प्रदेशका व्यवसायिक संघ–संस्थाहरुको सहयोग र सहकार्यको खांचो रहेको स्थानीयले बताएका छन् । सरकारी उपेक्षा, भौगोलिक विकटता, आवश्यक पुर्वाधार र प्रचार–प्रसारको कमी जस्ता कारणले प्रचूर संभावना हुंदा हुंदै पनि रारा तालको पर्यटन प्रवद्र्धन हुन नसकेको स्थानीयको गुनासो छ । एशियाकै ठूलो र रमणीय रारा ताल समुन्द्री सतहबाट २९९० मिटर उचाईमा १६७ मिटर गहिरो, ५ किलोमिटर लामो र ३ किलोमिटर चौडा छ । रारा राष्ट्रिय निकुञ्जभित्र चारैतिर हरियाली पहाडले घेरिएको रारा ताल रामसार सूचिमा सूचिकृत सम्पदा हो ।
उद्योग ब्यापार संगठन रुपन्देहीले वार्षिक कार्ययोजना तर्जुमा वैठक एवं आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत मुगुको रारा ताल परिसरमा गरेको अन्तरक्रियामा सहभागीहरुले प्रदेश नंं ६ को मुख्य पर्यटकीय स्थल रारा तालको पर्यटन प्रवद्र्धनमा छिमेकी प्रदेश नं. ५ का व्यवसायीको सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटनविद् समेत रहेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले रारा ताल प्राकृतिक बनोटले संसारकै सुन्दर, रमणीय र अनुपम स्थल भएकोले वर्षेनी लाखौंको संख्यामा स्वदेशी र विदेशी पर्यटक भ्रमणमा आउने र यसकै माध्यमबाट मुगु जिल्लाको मात्र नभै समग्र कर्णालीले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । भौगोलिक विकटता, जोखिमपूर्ण सांघुरो सडक, संचार, टुर गाइड र सुविधायुक्त होटलहरुको अभावले पर्यटकहरु आकर्षित हुन नसकेको औंल्याउंदै उनले रारा क्षेत्रमा पर्यटकीय पुर्वाधारहरु निर्माणमा छिमेकी प्रदेशका उद्योगी व्यवसायीको सहयोग र सहकार्य आवश्यक रहेको उनले औंल्याए ।
उद्योग वाणिज्य संघ मुगुका उपाध्यक्ष हरिजंग शाहीले सरकारी उपेक्षाकै कारण रारा तालको पर्यटन प्रवद्र्धन हुन नसकेको गुनासो गर्दै रारामा पहिलोपटक पर्यटन प्रवद्र्धन सम्बन्धी औपचारिक कार्यक्रम भएको बताए । ‘राज्यको ध्यान त पुगेकै छैन,स्थानीयमा व्यवसायिक सोंच र लगानीको अभाव छ’ –शाहीले भने–‘राराको प्रचार प्रसार गर्न र पुर्वाधारमा लगानी भित्राउन छिमेकी प्रदेशका उद्योगी–व्यवसायीको सहयोग र सहकार्य खांचो छ ।’
मुगुका पर्यटन व्यवसायी गोपाल बमले मुगुमा रारा तालसंगै हिन्दु धर्मावलम्बीहरुका लागि प्रसिद्ध छायानाथ लगायतका मन्दिर र धार्मिक स्थलहरु पनि रहेको उल्लेख गर्दै बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई रारा क्षेत्रसम्म ल्याउन दुबै ठाउंका व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
सरकारको उचित नीतिको अभावका कारण रारा तालको पर्यटन प्रवद्र्धन हुन नसकेको उनले गुनासो गरे ।
उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको एक प्रमुख आधार पर्यटन क्षेत्र भएकाले संगठनले कर्णालीको आन्तरिक पर्यटन प्रवद्र्धनसंगै लगानीका संभावना खोज्न कार्यक्रम गरेको स्पष्ट पारे । उनले कर्णालीमा जडिबुटी, मार्बल र सिमेन्ट उद्योगको संभावना देखेको र लगानी गर्न उद्योगीहरु इच्छुक रहेको बताए । अन्तरक्रियामा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय सदस्य मनिषकुमार जोशी, उद्योग ब्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री,उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठी,महासचिव अनिल ज्ञवाली,कोषाध्यक्ष सचिन रोक्का, नेपाल नगरपालिका संघका उपाध्यक्ष अशोक बैन्जू, होटल व्यवसायी लक्ष्मण भण्डारी लगायतले राराको पर्यटन विकास गर्न सडक विस्तार, सुविधायुक्त होटल–रेष्टुरां,यातायात सेवा, टुर गाइड, घोडचढी आदिको व्यवस्था गर्नसके राराको पर्यटन प्रवद्र्धन हुने सुझाव राखेका थिए ।