देवदह, बैशाख । ह्रासउन्मुख कृषि उत्पादनले स्वास्थ्यलाई प्रतिकुल असर पार्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले बालीनालीको उत्पादन बृद्धि गर्न जीवाणु, बातावरण र वासस्थानको तालमेल मिल्नुपर्ने बताएका थिए ।
देवदह –७ लक्ष्मीनगरमा भएको धानवाली सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । देवदह कृषि सेवा केन्द्र खैरेनीको सहयोग तथा मिलिजुली बहुउद्धेश्यीय कृषि समुहको व्यवस्थापनमा भएको प्रशिक्षणमा बालीनालीमा लाग्ने किराहरु, मलखादको प्रयोग तथा बालीनालीमा लाग्ने रोगहरुको बारेमा प्रशिक्षण दिइएको थियो । मिलिजुली बहुउद्धेश्यीय कृषि समुहका अध्यक्ष यमकला भूषालको अध्यक्षता भएको कार्यक्रममा समूहका कोषाध्यक्ष कमला भट्टराई, सह–सचिव मिना न्यौपाने, सदस्यहरु पूर्णिमा काफ्ले, सावित्री खत्री, यमबहादुर खत्री, ताराप्रसाद पन्थ, पत्रकार मिना पौडेललगायतले बोल्दै बढ्दो शहरीकरणमा स्वस्थकर जीवनशैलीले महत्व राख्ने हुदा हरेक कृषकहरुले बालीनालीको सहि व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा देवदह कृषि सेवा केन्द्रका प्रमुख रामनारायण चौधरीले प्रशिक्षण दिनुभएको थियो । कृषि समुहका सचिव मुक्तिप्रसाद काफ्लेको संचालनमा भएको कार्यक्रममा २६ जना बहुउद्धेश्यीय कृषि समूहका मानिसहरुको सहभागिता रहेको थियो ।