भैरहवा, ८ असार । पश्चिम तराईको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज एण्ड शिक्षण अस्पतालले घाईते विरामी बचाउनका लागि “आकस्मिक शल्यक्रिया कम्प्लेक्स” संचालनमा ल्याएको छ ।
स्वास्थ्य कम्प्लेक्स भित्र तीन वटा छुट्टा–छुट्टै अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्षहरु स्थापना गरिएको छ । जसमा महिला प्रसुति सेवा, दुर्घटना एवं जोखिममा परेका आकस्मिक विरामी र अस्पतालका नियमित एवं पुन चेक जांचका लागि आउने विरामीहरुका लागि छुट्टाछुटै तीन वटा सुविधायुक्त शल्यक्रिया कक्षहरुको व्यवस्था मिलाईएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले वताउनु भयो । सबै शल्यक्रिया कक्षहरुमा अक्सिजनको ब्यवस्था मिलाउनुका साथै सवै विरामीसम्म पुग्नेगरी अन्डर ग्राउन्ड पाइप लाइनबाट अप्रेशनमा प्रयोग हुने प्रेशर एअर (हावा), चिकित्सक कक्ष, नर्सिङ्ग कक्ष, आराम कक्ष आदिको व्यवस्था गरिएको छ ।
विशेषगरी अस्पतालमा आकस्मिक दुर्घटना, सडक दुर्घटना, प्रसुति सेवा, टाउकोमा चोट, विभिन्न किसिमका पेटका समस्याहरु, हाड–जोर्नीका समस्या लिएर धेरैजसो विरामीहरु आउने हुंदा यस्ता विरामीहरुको शिघ्र शल्यक्रिया गरी उनीहरुलाई बचाउने उद्देश्यले शल्यक्रिया कम्प्लेक्स संचालनमा ल्याईएकोले यसको प्रयोग सफल हुनेमा डा. मनोहर जोशीले बिस्वास ब्यक्त गर्नुभयो । शल्यक्रिया कम्प्लेक्स चार करोडको लागतमा निर्माण गरिएको हो । उक्त कम्प्लेक्समा अत्याधुनिक चिकित्सकीय विज्ञानका एकअर्व वढीका उपकरणहरुलाई सुरक्षितढंगले प्रयोगमा ल्याउने कार्य भईरहेका छन् । अस्पतालले अत्याधुनिक र पुर्ण वातानुकुलित ६० शैयाको आकस्मिक शल्यक्रिया कम्प्लेक्स संचालन गरेसंगै अस्पतालमा विभिन्न खालका विरामीहरुको चांप पनि बढेको छ । यसैगरी अस्पतालले आकस्मिक विरामीहरुलाई लक्षित गरी आकस्मिक सि.टी. स्क्यान, डिजिटल एक्स–रे, ल्याव र फार्मेसी समेत संचालन गर्ने तयारी गरेको छ ।
सन १९९८ सालमा एक सय शैयाको अनुमती लिई स्वास्थ्य सेवा सुरु गरेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज एण्ड शिक्षण अस्पतालले वर्षेनी सेवा विस्तार गर्दै हाल ९ सय ५० शैया पु¥याएको छ । अस्पताल एवं कलेजले हाल विशेषज्ञ चिकित्सकदेखि प्रशासनिक एवं प्राविधिक सवै कर्मचारी गरी ३ हजार वढिले रोजगार पाई अस्पताल र कलेजमा कार्यरत रहेको कम्पनी सचिव राजु बस्नेतले जानकारी दिनुभयो ।