विभिन्न विद्यालयमा एसएलसी उत्तिर्ण बिद्यार्थीलाई सम्मान

682

विभिन्न विद्यालयमा एसएलसी उत्तिर्ण बिद्यार्थीलाई सम्मान

बुटवल, ७ असार । रुपन्देहीको तिलोत्तमा–५ शंकनरनगर स्थित न्यू लाईट उच्च माध्यमिक विद्यालयबाट एस.एल.सी.उत्तीर्ण भएका विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको छ ।
विद्यालयका अध्यक्ष खडग बहादुर गौतमको अध्यक्षता तथा शिक्षक गोकुल पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा ४४ जना विद्यार्थीहरु तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुलाई सम्मान गरिएको हो ।
साथै उत्कृष्ट नतिजा ल्याउन सफल ६ जना र नर्सरीदेखि कक्षा १० सम्म विद्यालयमा निरन्तर अध्ययन गरेका ९ विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा न्यू लाईट कलेजका प्रमुख रमेश ज्ञवाली, विद्यालयका प्राचार्य सीताराम भट्टराई, संरक्षक क्या. प्रेम बहादुर भण्डारी, बाबुराम अधिकारी, शिक्षक दिनेश खड्का, विद्यार्थी अनिल अर्याल लगायतले बोल्दै उच्च मा.वि. मा विषय छनौट गर्दा विशेष ध्यान दिन बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
यसैगरी तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ अंग्रेजी आवासिय उच्च माविले यस वर्षको एसएलसी परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल श्रेष्ठ र प्राचार्य यमबहादुर रानाले एसएलसी उत्तीर्ण विद्यार्थी तथा अभिभावक र शिक्षकलाई सम्मान गर्नुभएको थियो ।
यस बर्षको एसएलसीमा विद्यालयबाट परीक्षामा सम्मिलित एकसय २६ विद्यार्थी मध्ये ३७ जनाले ए प्लस, ४७ जनाले ए, ३३ जनाले वि प्लस र ९ जनाले वि स्कोर ल्याएर उत्तीर्ण भएको विद्यालयले जनाएको छ । कार्यक्रममा प्राध्यापक डिआर भण्डारी, प्लस टु इन्चार्ज इश्वरचन्द्र गौतम, अभिभावक बलबहादुर आचार्य, विजयलक्ष्मी पाण्डे, विद्यार्थीहरु कुसुम क्षेत्री, स्वस्तिका श्रेष्ठ, विद्या थापा, क्षितिज जैसवाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक रजनिश चन्द्र गुप्ताले गर्नुभएको थियो ।
यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका स्थित सुनगाभा पब्लिक उच्च मावि सिन एसएलसी परीक्षामा उत्तिण बिद्यार्थीलाई सम्मान गरेको छ । बिद्यालयकी बिद्यार्थी तथा नेपाल अधिराज्यमै उत्कृष्ट समिक्षा सुवेदी सहित बिद्यालयबाट उत्तिर्ण बिद्यार्थीलाई सम्मान गरिएको हो ।
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले सुवेदीलाई सम्मान गर्दै शैक्षिक क्षेत्रमा रुपन्देही विगतदेखिनै निरन्तर रुपमा उत्कृष्ठ रहदै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपाने, उच्च माध्यमिक शिक्षा परिषद्का अधिकृत बाबुराम भण्डारी, नेशनल प्याब्सनका केन्द्रीय सदस्य राजु गुरुङ्ग, विद्यालयका प्रिन्सिपल तिलव केसी, संचारकर्मी ऋषि न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो बिद्यालयबाट एसएलसी परीक्षामा ९ जना ए प्लस, ७ जना ए, ११ जना बि प्लस, १८ जना बि र ३ जना बिद्यार्थी सि प्लस ग्रेडमा उत्तिर्ण भएका थिए ।
त्यस्तैगरी अक्सफोर्ड उच्च माध्यमिक विद्यालय बुटवल १० सुख्खानगरमा पनि विद्यार्थीलाई सम्मान तथा शुभकामना कार्यक्रम गरिएको छ । प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विद्यालयले बधाई सहित सम्मान गरेको हो । विद्यालय सञ्चालक समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय सञ्चालक समितिका सदस्य नवराज पंगेनी, अजित खनाल, विद्यार्थी गौरव उपाध्याय लगाएतले भनाई राख्नुभएको थियो ।
यस वर्षको एसएलसी परीक्षामा अक्सफोर्डबाट ९९ जना बिद्यार्थी सहभागि भएकोमा ए प्लसमा १७ जना, एमा ४२, बि प्लसमा ३५ जना, ५ जना बि ग्रेडमा उत्तिर्ण भएको प्राचार्य दिनेश भुसालले जानकारी गराउनु भयो ।