भैरहवा, ८ असार । रुपन्देहीको मधेसीमुलका किशोरीहरुले बालविवाह रोक्न सरोकारवालाहरुसंग आग्रह गरेका छन् । बालविवाहले आफूहरुको शारीरिक र मानसिक स्वास्थ्य, शिक्षा र आत्मनिर्भतामा असर गरेको भन्दै बालविवाहलाई रोक्न उनीहरुले आग्रह गरे । संवाद किशोर किशोरी सञ्जाल र एवीसी नेपालले सोमबार भैरहवामा बालविवाहले किशोर किशोरीमा पारेको प्रभाव न्युनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागि किशोरीहरुले यस्तो आग्रह गरेका हुन् ।
सानैमा विहे भएपनि उमेर पुग्दा पतिको घर जान नपाएका किशोरीले आफ्नो भावी जीवन जिउनकालागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी लगायत सरोकारवाला निकायका अधिकारीहरुसमक्ष सहयोगको अपेक्षा समेत गरेका छन् । अबोध बालिकामै विहे हुने तर उमेर पुगेपछि बेहुलाले गौना नगर्दा विवाह भएका धेरै किशोरी पतिको घर जान पाएका छैनन् ।
किशोरीहरुका अपेक्षा र गुनासा सुनेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बालविवाहबाट प्रताडितलाई कानुनी र सामाजिक सहयोग गर्ने बताउनुभयो । बाल विवाह रोक्न जिल्ला बाल कल्याण समिति, जिल्ला प्रशासन कार्यालय र मातहत निकायका कार्यालयबाट पहलगर्ने समेत उहाले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गले बालविवाह भएको भए सूचना दिन र बालविवाह रोक्न सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । स्थानीय विकास अधिकारी युवराज सुवेदीले वालविवाह रोक्न अभिभावकलाई चेतनामूलक कार्यक्रम र किशोरीकालागि आत्मनिर्भर कार्यक्रमगर्ने प्रतिवद्धता जनाउनुभयो । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बालविवाह विरुद्ध शिक्षित किशोरी र शिक्षकहरुबाट चेतनामुलक कार्यक्रम संचालनका लागि कार्यालयले पहल गर्ने बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका केदारनाथ शाहले बालविवाह विरुद्ध स्वास्थ्य केन्द्रहरुबाट अभियान चलाउने जनाउनुभयो ।
कार्यक्रममा अन्तरक्रियाको निष्कर्ष प्रस्तुत गर्दै महिला तथा बाल अधिकार सञ्जालका अध्यक्ष ज्ञानु पौडेलले कानुनले अवैध मानेको बालविवाह रोक्न कानुनको पालना गराउन र पीडितको सहयोग गर्न सबै सरोकारवालाहरु लाग्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । कार्यक्रममा रुपन्देहीमा बालविवाहको अवस्था र यसले पारेका असरबारे कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । एवीसी रुपन्देहीका उपाध्यक्ष पुष्पालक्ष्मी श्रेष्ठको अध्यक्षता र पत्रकार अमृता अनमोलको सञ्चालनमा भएको कार्यक्रममा एविसी नेपालको संवाद परियोजना संयोजक सुन्दर हरिजनले किशोर किशोरीहरुको अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।