पाल्पा, २३ असार । निःशुल्क कृत्रिम गर्भाधान सेवाले व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ ।
साँढे र राँगो पाल्दा हाडनाता पर्ने तथा नश्ल सुधार गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले अभियानका रुपमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेको हो । कार्यालयले किसानको घर घरमा पुगेर सेवा दिन थालेपछि हिजोआज नागरिक साँढे र राँगोको सट्टा कृत्रिम गर्भाधान सेवातर्फ आकर्षित भएका हुन् ।
यस वर्ष कार्यालयले एक हजार ८४३ गाई, ८०७ भैँसी, ६४ वटा बाख्रा गरी जम्मा दुई हजार ७१७ पशुमा कृत्रिम गर्भाधान गराएको पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । गत वर्ष एक हजार ६४२ गाई, एक हजार १७४ भैँसी र २४ बाख्रामा गरी जम्मा दुई हजार ८४० पशुमा कृत्रिम गर्भाधान गराइएको थियो ।
जिल्लाका रामपुर, ताहुँ, हुँगी, आर्यभञ्ज्याङ, मदनपोखरा, खस्यौली, छहरा र अर्गली सेवाकेन्द्रबाट कार्यालयले किसानलाई उक्त सेवा दिँदै आएको छ ।
बिरुवा वितरण
जिल्ला कृषि विकास कार्यालयले किसानलाई यस वर्ष ६३ हजार ३०० फलफूलका बिरुवा वितरण गरेको छ ।
एक सय ६९ हेक्टर क्षेत्रफलका लागि कार्यालयले अनुदानमा उक्त बिरुवा वितरण गरेको हो । करिब ८२ हजार हेक्टर क्षेत्रफलमा २४ हजार ६०० सुन्तला फलफूल जातका बिरुवा, ४२ हेक्टर क्षेत्रफलमा सात हजार लिचीका बिरुवा, २७ हेक्टर क्षेत्रफलमा दुई हजार ७०० लप्सीका बिरुवा र ११ हेक्टर क्षेत्रफलमा २२ हजार कफीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको प्राविधिक ज्ञानकुमार यादवले जानकारी दिनुभयो ।
गत वर्ष कार्यालयले ११९ हेक्टर क्षेत्रफलमा ४९ हजार ५०० फलफूलका बिरुवा वितरण गरेको थियो । जिल्लाका विभिन्न स्थानमा रहेका छ वटा सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत ती फलफूलका बिरुवा वितरण गरेको बताएको छ ।