मणिग्राम, २९ असार । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा दक्षिण कोरियाली प्रोफेसर तथा स्वास्थ्यकर्मीसँगको परिचयात्मक बैठक आज सम्पन्न भएको छ ।
दक्षिण कोरियाको वङ्क–वङ् विश्वविद्यालयका प्रोफेसर डाक्टर जोङ् ह्यून हानको नेतृत्वमा आएको चिकित्सक सहितको ३७ (सैंतिस) सदस्यीय टोलीले क्याम्पसको अवलोकन सहित परिचयात्मक एवम् मैत्री बैठक सम्पन्न गरेको हो ।
सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध
सहित साँस्कृतिक, प्राज्ञिक तथा प्राविधिक सहकार्यका लागि क्याम्पस इच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा वङ्क–वङ् विश्वविद्यालयका प्रोफेसर डाक्टर हानले राममणि क्याम्पसबाट आफूहरू अत्यन्त प्रभावित भएको भन्दै आगामी दिनमा सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको बताउनुभयो । साथै, उहाँले राममणि क्याम्पस देशकै नमूना क्याम्पस बनोस् भन्दै सो को लागि सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
सो अवसरमा विश्व एकता एकेडेमी प्रबन्ध निर्देशक अरूण पौडेलले सहजीकरण गर्दै कोरियाली समूह सहकार्य तथा मैत्रीभावको विकासका लागि नेपाल आएको बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरू समेतको उल्लेख्य सहभागिता रहेको क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।