छ अर्ब भन्दा बढी सेयर कारोबार

331

छ अर्ब भन्दा बढी सेयर कारोबार

share bazarकाठमाडौँ, १ साउन । गत साता सेयर बजारमा रु छ अर्ब पाँच करोड ५४ लाख १३ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन ६.८१ अङ्कले अगाडि बढेको सेयर बजार पछिल्ला दिनमा भने सरकार परिवर्तन र मौद्रिक नीतिलगायतका कारण केही ओरालो लाग्यो । मौद्रिक नीति सार्वजनिक भएपछि बजार केही उकालो लाग्दै एक हजार ७१८ अङ्कमा रोकिएको छ । आइतबार जलविद्युत् र बिमा समूहले मात्रै बजार धान्दै कुल १४५ कम्पनीको २२ लाख १७ हजार ९७३ कित्ता सेयर बिक्री भएको थियो । सो दिन रु एक अर्ब ४३ करोड ७० लाख ४६ हजार ९५६ मूल्यको कारोबार भएको थियो ।

अरु समूहको परिसूचक भने घटेको थियो । सोमबार भने बजार २०.२६ अङ्कले घटेर एक हजार ७०२ विन्दुमा कायम भयो भने मङ्गलबार सरकार परिवर्तनको विषयले राजनीतिक बजार गरम भएपछि नेप्से परिसूचक नौ अङ्कले घटेर एक हजार ६९३ विन्दुमा कायम हुनपुग्यो । कुल १३८ कम्पनीको रु एक अर्ब १३ करोड ९१ लाख ७२ मूल्य बराबरको कारोबार भएको थियो ।

बुधबार केही समय बजार उकालो लागे पनि अन्त्यमा २.६४ अङ्कले गिरावट आएको थियो । बिहीबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीति सार्वजनिक गरेलगत्तै बजार २७.७२ अङ्कले बढेको थियो । होटल, उत्पादन र अन्य समूहको कारोबार बढेको भए पनि बैङ्किङ, बिमा, जलविद्युत् समूहको कारोबार घटेको स्टकले जनाएको छ ।

कुल २५ लाख ५० हजार ६५८ कित्ता सेयर किनबेचबाट सो दिन रु एक अर्ब ४६ करोड ७८ लाख ५३ हजार ८३६ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबारबाट थप एक घन्टा बजार खुल्ने

सातामा आइतबारदेखि बिहीबारसम्म दैनिक तीनघन्टा मात्रै कारोबार हुँदै आएकोमा सेयर कारोबार भोलि आइतबारबाट भने चार घन्टा हुने भएको छ । सेयर कारोबार नियमावली, २०५५ अनुसार नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी कारोबारको समय थप गरिएको हो ।